बैशाख ७, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियाल नोटहरु वैशाख २७ भित्र सटही गर्न आग्रह गरेको छ । विदेशी मुद्राको विनिमय एकीकृत परिपत्र जारी गर्दै कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियल बैंकनोटहरु हटाउने निर्णय गरे पछि उक्त नोटहरू सटही गर्न आग्रह गरेको हो ।
केन्द्रीय बैंकले उक्त नोटहरू राष्ट्र बैंकले तोकेका कार्यालयहरूमा सटही गर्न सकिने बताएको छ । नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुबाट तोकिएको मितिभन्दा अगाडि कतारी रियाल सटही गर्न सकिनेछ । तर, सो मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
कतारको केन्द्रीय बैंकले आगामी जुलाई १ गते बाट ति नोटहरू प्रतिबन्ध गर्ने जनाएको छ । नेपालका लाखौं कामदार वैदेशिक रोजगारीका लागि कतार गएका कारण नेपाल फर्किँदा उनीहरुले कतारी नोट ल्याएर राखेको हुनसक्ने आकलन छ ।