Banijya News

५३ प्रतिशत नेपाली अझै बीमाको पहुँच बाहिर

160 Shares

बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनको दोस्रो संस्करण अनुसार, हालसम्म ५३ प्रतिशत नेपाली जनसंख्या अझै बीमाको पहुँचबाहिर रहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकका आधारमा गरिएको विश्लेषणमा यो तथ्य उल्लेख गरिएको हो।

२०७८ सालको जनगणनाका आधारमा जनसंख्याको प्रक्षेपण गर्दै बीमा प्राधिकरणले बीमाको पहुँचको गणना गरेको छ। यसमा म्यादी बीमा र वैदेशिक रोजगारी बीमा पनि समावेश गरिएको छ। तथ्यांकअनुसार हालसम्म जनसंख्याको ४७.३९ प्रतिशत मात्र बीमाको पहुँचभित्र छन्, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४३.५६ प्रतिशत थियो।

यस अवधिमा बीमा समर्पण गर्नेको संख्या घटेको देखिएको छ। वैशाख मसान्तसम्म समर्पण गरिएका बीमा लेख संख्या ८८ हजार ६ सय ३५ रहेको छ, जुन अघिल्लो वर्ष ८९ हजार ७७ थियो। तर, समर्पणबाट उठेको बीमा रकम भने १० अर्ब ९८ करोड बाट बढेर १२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, समयमै बीमा शुल्क नतिर्ने र नसमर्पण भएका बीमा लेखको संख्या ११ प्रतिशतले बढेको छ। यस्तो लेख संख्या ३६ अर्ब रुपैयाँको रहेको छ भने कुल मूल्य एक सय २५ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।

बीमा पहुँच विस्तार भए पनि अझै ठूलो संख्यामा नेपाली नागरिक बीमाको दायराबाट बाहिर रहेकोले वित्तीय समावेशीतामा चुनौती कायमै रहेको प्राधिकरणको निष्कर्ष छ।


Scroll to Top