आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रहेको थियो ।
आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
यस्तै, ३४ करोड ९५ लाख आयकरतर्फ राजस्व सङ्कलन भएको छ । ‘भ्याट’तर्फ १३ करोड ५२ लाख र अन्तःशुल्कतर्फ ५९ लाख ६१ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लामा हालसम्म ३९ हजार ५७३ जना करदाता दर्ता प्रक्रियामा छन् । जसमा ‘भ्याट’तर्फ दुई हजार छ, आयकरतर्फ १७ हजार ४७०, अन्तशुल्कमा ७२९ र ‘प्यान’तर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई सोहीअनुसार काम भइरहेको सो कार्यालयले जनाएको छ ।


