Banijya News

१० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड

160 Shares

जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा लघु बीमा मार्फत २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ४९ लाख ६९ हजार ८४३ वटा लघु बीमालेख बिक्री गरेका छन्।

लघु बीमाशुल्क संकलनमा नेशनल लाइफले सबैभन्दा बढी ७२ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ। रिलायबल नेपाल लाइफले ९४ करोड ३४ लाख, सिटिजन लाइफले ३७ करोड ६३ लाख र सूर्यज्योति लाइफले २५ करोड ५८ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेका छन्। यस्तै, नेपाल लाइफले ६ करोड ९८ लाख, मेट लाइफले ९ करोड २६ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ९१ लाख र सानिमा रिलायन्स लाइफले २३ करोड २२ लाख रुपैयाँ संकलन गरेका छन्। एलआईसी नेपाल, एशियन लाइफ, सन नेपाल लाइफ, र हिमालयन लाइफको संकलन तुलनात्मक रूपमा कम देखिएको छ।

लघु जीवन बीमकहरूतर्फ गार्डियन माइक्रो लाइफले २४ करोड १० लाख, क्रेष्ट माइक्रो लाइफले २२ करोड ९७ लाख र लिबर्टी माइक्रो लाइफले ११ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यद्यपि नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरूलाई कुल बीमा कारोबारको कम्तीमा ५ प्रतिशत हिस्सा लघु बीमामा सुनिश्चित गर्न निर्देशन दिएको भए पनि उक्त निर्देशन पूर्ण रूपमा कार्यान्वयन भएको छैन। पहिलो १० महिनाको अवधिमा जीवन बीमकको कुल बीमाशुल्क संकलनमा लघु बीमाको हिस्सा जम्मा २ प्रतिशतमा सीमित देखिएको छ।


Scroll to Top