Banijya News

वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

160 Shares

बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दति निक्षेपमा लगानी साढे १२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो।

वैशाख मसान्तसम्म जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ४८ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ खर्ब ७५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ थियो। यसले बीमा कम्पनीहरूको मुद्दति निक्षेपमा लगानी १२.६२ प्रतिशतले बढेको देखाउँछ।

उता, कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रूपमा बैंकमा रहेको लगानी भने ३.७५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष वैशाखसम्म १ खर्ब ८१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको लगानी रहेकामा चालु वर्षको वैशाखसम्म घटेर १ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ।

नागरिक लगानी कोषको लगानी भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म कोषको बैंकमा १ खर्ब ११ अर्ब १६ करोड ११ लाख रुपैयाँ लगानी थियो भने चालु वर्षको वैशाख मसान्तसम्म १७.८८ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

व्यक्तिगत निक्षेपको आकार पनि दोहोरो अंकले वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष वैशाखसम्म व्यक्तिगत निक्षेप ३८ खर्ब ८१ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ रहेकोमा चालु वर्षको वैशाख मसान्तसम्म बढेर ४३ खर्ब ३५ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यो ११.६८ प्रतिशतको वृद्धि हो।

यसैबीच, नेपाल राष्ट्र बैंकले ब्याजदरसम्बन्धी नियममा केही संशोधन गरेको छ। अबदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा बढीमा १ प्रतिशत कम गरेर मात्र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्न पाइनेछ। यसअघि सो अन्तर २ प्रतिशतसम्म कायम गर्न पाइन्थ्यो।


Scroll to Top