Banijya News

राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

160 Shares

गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

प्रदर्शनका क्रममा सरकारी तथा निजी सवारीसाधन, भवनलगायत भौतिक संरचना तोडफोड हुँदा ४६ करोड ९० लाख ८५ हजार ३ सय ४० रुपैयाँ बराबरको क्षति मागदाबीसहित प्रहरीमा जाहेरी परेको थियो । बिमा कम्पनीमा भने करिब सवा ४ करोडको मात्र दाबी परेको थियो । तोडफोड भएकामध्ये निकै थोरै सम्पत्ति–व्यवसायको मात्र बिमा भएकाले दाबी पनि कम परेको बताइएको छ ।

यस आधारमा प्रदर्शनमा भएको क्षतिको कुल दाबीमध्ये सवा ४२ करोडभन्दा बढीको बिमा छैन । उनीहरूको क्षति कसले बेहोर्छ भन्ने यकिन छैन । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट ३९ करोड ९२ लाख ३६ हजार ६ सय ७६ रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ । यसमध्ये १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्ड रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ६३ चारपांग्रे र ६ दुईपांग्रे सवारी छन् । क्षति पुगेका सवारीमध्ये नेपाल प्रहरीका ७, अन्य सरकारी कार्यालयका १०, सार्वजनिक संस्थानका १, निजी १८ र बाँकी ३३ वटा नम्बर नखुलेका सवारी रहेका प्रहरीको तथ्यांक छ ।


Scroll to Top