नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गर्ने लगानी पछिल्लो पाँच वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ। बिमा प्राधिकरणको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा यो वृद्धि उल्लेखनीय छ, जसमध्ये जीवन बिमा कम्पनीहरूको आकर्षण बढी देखिएको छ।
जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गरेको लगानी पछिल्लो पाँच वर्षमा करिब तीन गुणाले बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा कुल २५ अर्ब ७३ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेका जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा यो लगानी बढाएर ७५ अर्ब ५८ करोड रुपैयाँ पुर्याएका छन्।
वर्षगत रूपमा हेर्दा, २०७६/७७ बाट ६५.७ प्रतिशतले बढेर २०७७/७८ मा ४२ अर्ब ६३ करोड, त्यसपछि २४ प्रतिशतले बढेर २०७८/७९ मा ५२ अर्ब ८४ करोड, र १९.३ प्रतिशतले बढेर २०७९/८० मा ६३ अर्ब ५ करोड पुगेको थियो। ऋणपत्रतर्फको यो लगानी २०७९/८० बाट १९.९ प्रतिशतले बढेर गत आर्थिक वर्ष २०८०/८१ मा ७५ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो।
यसको तुलनामा, जीवन बिमा कम्पनीहरूको सरकारी ऋणपत्रतर्फको लगानीमा भने सोही मात्राको विस्तार देखिएको छैन। २०७६/७७ मा २ अर्ब ८ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेकामा २०८०/८१ मा आइपुग्दा यो ३ अर्ब १० रुपैयाँ मात्र पुगेको छ। यद्यपि, जीवन बिमा कम्पनीहरूको समग्र कुल लगानी भने २०७६/७७ को २ खर्ब ८४ अर्ब ६७ करोडबाट बढेर २०८०/८१ मा ६ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
निर्जीवन बिमा कम्पनीहरूको ऋणपत्रमा गर्ने लगानीमा भने बीचमा केही उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८५ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेका निर्जीवन बिमकहरूको लगानी २०७७/७८ मा घटेर २ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको थियो।
तर, २०७७/७८ देखि यता भने निर्जीवन बिमकहरूले पनि ऋणपत्रतर्फको लगानी निरन्तर वृद्धि गरिरहेका छन्। यो लगानी २०७८/७९ मा ३ अर्ब २ करोड र २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियो। अन्ततः गत आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा ४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यसरी, पछिल्लो पाँच वर्षमा निर्जीवन बिमा कम्पनीको ऋणपत्रमा गरेको लगानी १.४८ गुणाले बढेको देखिन्छ।
सरकारी ऋणपत्रतर्फ भने निर्जीवन बिमा कम्पनीको लगानी घट्दो क्रममा छ। २०७६/७७ मा ३३ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेकामा २०८०/८१ मा यो २२ करोड रुपैयाँमा झरेको छ। समग्रमा, निर्जीवन बिमा कम्पनीहरूको कुल लगानी २०७६/७७ को ४२ अर्ब ९७ करोडबाट बढेर २०८०/८१ मा ६६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा १४ वटा निर्जीवन बिमा कम्पनीले कुल ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन्। यसमध्ये ७६.३२ प्रतिशत अर्थात् ५१ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा केन्द्रित भएको छ। सरकारी बचतपत्र तथा ऋणपत्रमा ६२ करोड ९१ लाख, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ४ अर्ब ५४ करोड र बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा ३ अर्ब १९ करोड रुपैयाँ लगानी भएको छ।
यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा १४ जीवन बिमा कम्पनीले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन्। यसमध्ये अधिकांश लगानी अर्थात् ५ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ वाणिज्य बैंकहरूको मुद्दती खातामा केन्द्रित छ। संस्थापक सेयरमा १४ अर्ब १३ करोड, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको ऋणपत्रमा १८ अर्ब २८ करोड र बैंक तथा वित्तीय संस्थाहरूको ऋणपत्रमा ५७ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन्। नेपाल सरकार तथा राष्ट्र बैंकको ऋणपत्रमा भने ३ अर्ब ५ करोड ३९ लाख रुपैयाँ लगानी भएको छ।
यसरी हेर्दा, बिमा कम्पनीहरूले आफ्नो कोष व्यवस्थापनका लागि ऋणपत्रलाई एक महत्त्वपूर्ण लगानीका रूपमा लिएको देखिन्छ। यद्यपि, सरकारी ऋणपत्रतर्फको लगानीमा भने अपेक्षित वृद्धि हुन सकेको छैन। अधिकांश लगानी अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित भएको तथ्यांकले देखाउँछ।