विश्व बैंकले नेपालका दुई प्रमुख विकास परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ। बैंकको निर्देशक समिति बैठकले २०२५ मे २९ मा उक्त ऋण सुविधा स्वीकृत गरेको हो, जसको जानकारी विश्व बैंकले सोमबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत दिएको हो।
यस ऋण सुविधामार्फत नेपालको विद्युत् आपूर्ति प्रणाली सुधार र सिँचाइ सेवा अभिवृद्धि गरी कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्य राखिएको छ। दुई परियोजनामध्ये विद्युत् आपूर्ति प्रणाली सुधारका लागि १२ करोड अमेरिकी डलर ऋण उपलब्ध गराइनेछ। उक्त परियोजना कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको वितरण प्रणाली मजबुत तथा भरपर्दो बनाउन केन्द्रित हुनेछ।
नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने यस परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचना स्तरोन्नति र निगरानी प्रणालीलाई स्वचालित बनाउने कार्य गर्नेछ। यसले विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न योगदान दिने अपेक्षा गरिएको छ।
त्यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण (फेज–३) कार्यान्वयनका लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरिएको छ। यो आयोजना सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा केन्द्रित हुनेछ, जहाँ वर्षभर सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ।
परियोजना सम्पन्न भएपछि थप १७ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ। यसले करिब १ लाख ६० हजार मानिसलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने अपेक्षा गरिएको छ। विश्व बैंकद्वारा स्वीकृत यी परियोजनाहरू नेपालमा ऊर्जा सुरक्षा र खाद्य उत्पादन वृद्धि दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।