गत आर्थिक वर्ष २०८१/८२ मा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर इन्जिन भएका) आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत अवामा कुल २ लाख १ हजार ९५२ युनिट दुईपाँग्रे सवारी साधन आयात भएका हुन् ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५० प्रतिशत धेरै हो । अघिल्लो आवमा कुल १ लाख ३४ हजार ५३४ युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार आउन थालेसँगै दुईपाँग्रे सवारी आयात पनि बढ्न थालेको हो । कोभिडपछि खँस्कदै गएको दुइैपाँग्रे अटोमोबाइल बजार गतवर्षदेखि पुनः पुरानै लयमा फर्किने प्रयास गरेको हो । कोडिभ अगाडि एकै वर्षमा साढे ३ लाख युनिटसम्म मोटरसाइकल/स्कुटर आयात भएको तथ्यांक छ ।
गत आव २०८०/८१ आवको तथ्यांक हेर्दा सबैभन्दा ठुलो ग्रोथ १२५ सीसी सेग्मेन्टमा देखिन्छ । यो सेग्मेन्टमा झण्डै ५० प्रतिशतको आयात वृद्धि भएको तथ्यांकले देखाउँछ । अघिल्लो आवमा १२५ सीसी सेग्मेन्टका ८४ हजार ६२७ युनिट आयात भएको देखाउँछ भने गत आवमा १ लाख २४ हजार २५० युनिट आयात भएको देखिन्छ । नेपालमा सबैभन्दा धेरे बिक्री हुने स्कुटर र मोटरसाइकल यही सेग्मेन्टमा पर्छन ।
त्यस्तै, १२० सीसीदेखि २०० सीसीसेग्मेन्ट स्थिर जस्तै देखिएको छ भने २०० सीसीभन्दा माथिका मोटरसाइकलको बजार बढ्दो क्रममा देखिएको छ ।