व्यावसायिक घराना शंकर र अम्बे ग्रुपले सञ्चालन गरिरहेको रिद्धिसिद्धी सिमेन्ट लिमिटेडले यस वर्षको नौ महिनामा झन्डै चार अर्ब रुपैयाँको सिमेन्ट व्यापार गरेको छ । आर्थिक सुस्तता र तीव्र प्रतिस्पर्धा हुँदा पनि उद्योगले नौ महिनामा तीन अर्ब ९९ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ ।
गत आर्थिक वर्षमा उद्योगले पाँच अर्ब ८१ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । सन् २०२३ मा पाँच अर्ब ४६ करोड ७० लाख र २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको रेटिङका लागि सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । सन् २०२३ को तुलनामा २०२४ मा उद्योगको सिमेन्ट व्यापार ६ प्रतिशत बढेको छ ।
उद्योगको मार्जिनमा पनि सुधार आएको छ । सन् वर्ष २०२३ मा १८.७२ बाट बढेर वर्ष २०२४ मा २४.९६ प्रतिशत पुगेको छ । सिमेन्टको कच्चा वस्तु क्लिङकर उद्योग आफैँले उत्पादन गर्दा लागत घट्न गई उद्योग लाभान्वित भएको छ । यसबीचमा अन्तर्राष्ट्रिय बजारमा कोइला मूल्यमा उल्लेखनीय कमी आएपछि यसको असर उद्योगको वित्तीय विवरणमा परेको हो ।
उद्योगले सन् २०१९ मा वार्षिक आठ करोड ४० लाख टन क्लिङकर उत्पादन थालेको हो । रिद्धिसिद्धीसँग तीनवटा चुनढुंगा खानी रहेका छन् । यो वर्ष उद्योगको क्षमता उपयोग घटेको छ । यो वर्ष सिमेन्टको क्षमता उपयोग ६१ बाट घटेर ५६ प्रतिशतमा सीमित छ । यस्तै, क्लिङकर उत्पादन ६६ बाट घटेर ४३ प्रतिशतमा झरेको छ । मुलुकमा अहिले २० क्लिङकर उत्पादन र ६० सिमेन्ट बनाउने उद्योग सञ्चालनमा छन् । उद्योगको सिमेन्ट उत्पादन क्षमता वार्षिक सात लाख ३० हजार छ । उद्योगले रिद्धिसिद्धी ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
रिद्धिसिद्धीले हाल उत्पादित क्लिङकरको ८४ प्रतिशत आफैँले सिमेन्ट उत्पादनमा उपयोग गरिरहेको छ । बाँकी १६ प्रतिशत स्थानीय ग्राइन्डिङ इकाइलाई बेचिरहेको छ ।
उद्योगको ऋण ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ छ । आठ अर्ब २७ करोड दीर्घकालीन र तीन अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालीन ऋण छ । उद्योगले ‘आईआरएन ए थ्री’ रेटिङ स्कोर पाएको छ । दीर्घकालीन ऋणले ‘ट्रिपल बी माइनस’ रेटिङ पाएको छ । उद्योग हेटौँडाको रातोमाटेमा छ । उद्योग सन् २०१३ मा स्थापना भएको हो ।


