दाङमा पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ८६ करोड ३१ लाख रुपैयाँ लगानी भएको हो ।
जसमा घरेलु तथा साना उद्योगतर्फ ८० करोड ४७ लाख र वाणिज्यतर्फ एक अर्ब पाँच करोड ८३ लाख रुपैयाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
सूचना अधिकारी पौडेलका अनुसार जिल्लामा एक वर्षका अवधिमा ४४९ वटा घरेलु उद्योग र ५७९ वाणिज्यतर्फ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा आव २०८१/८२ मा ४४४ वटा उद्योग र ५५५ वटा वाणिज्य फर्म बन्द भएका छन् । यो संख्या कार्यालयसम्म पुगेर बन्द गराउनेहरूको संख्या हो । व्यवसाय बन्द रहेको तर कार्यालयसम्म नपुग्नेहरूको संख्यासमेत धेरै रहेको छ ।
कतिपयले बैंकको ऋणका लागि मात्र भए पनि व्यवसाय सञ्चालनमा रहेको देखाउने गरेका छन् । एक हजार ७४ वटा घरेलु तथा साना उद्योग र एक हजार तीन सय ५९ फर्म नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार जिल्लामा कृषि, जडीबुटीलगायतका साना उद्योगहरू थपिएका छन् ।
लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानु पर्ने भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेलले बताए । उनले भने,‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको वार्षिक तथ्यांक हेर्दा एकै खाले देखिन्छ । व्यावसायिक क्षेत्रमा खासै उत्साह देखेको छैन ।’