अभिनेता पल शाह आफ्नो नयाँ चलचित्र ‘यानीमाया’ को निर्माण तयारीमा जुटेका छन्। यसका लागि उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मोहर’ को प्रचारप्रसारलाई केही दिन स्थगित गर्दै १२ दिनका लागि सोमबार बागलुङ प्रस्थान गरेका छन्।
पल शाह बागलुङ गएपछि ‘मोहर’ को तीन दिनपछि हुने भनिएको ट्रेलर रिलिजको औपचारिक कार्यक्रम पनि स्थगित गरिएको छ। ‘मोहर’ को निर्माण पक्षले राजधानीलाई जानकारी गराएअनुसार पल काठमाडौँमा नभएकाले अब ट्रेलर रिलिजको औपचारिक कार्यक्रम नहुने भएको छ।
‘यानीमाया’ बाट पल शाह निर्माण क्षेत्रमा डेब्यु गर्दैछन्। उनले यस चलचित्रको कथा आफूलाई अत्यन्तै मन परेको र त्यसैले निर्माणमा आउन लागेको बताएका छन्। यो चलचित्रको निर्देशन लेखक विकास सुवेदी ले गर्दैछन्, जसले आधा दर्जनभन्दा बढी चलचित्र लेखिसकेका छन् र ‘यानीमाया’ बाट निर्देशनमा पाइला टेक्दैछन्।
निर्देशक सुवेदीले यसअघि चलचित्र ‘प्रकाश’ र ‘पुजार सार्की’ को छायांकनस्थलमै कलाकारहरूलाई जमघट गराएर अभिनय कार्यशाला गराएका थिए। यस पटक पनि उनले ‘यानीमाया’ को अन्तिम अभिनय कार्यशाला मंगलबारबाट बागलुङमा सुरु गर्दैछन्। यो चलचित्रमा पल शाह र अभिनेत्री अञ्जना पुन को मात्रै नाम सार्वजनिक गरिएको छ भने अन्य कलाकारहरूको बारेमा जानकारी गराइएको छैन।
कलाकार लोकेन्द्र लेखकले पल र अञ्जनालाई दुई सातासम्म अभिनयसम्बन्धी कार्यशाला गराएपछि निर्देशक सुवेदी उनीहरूलाई लिएर बागलुङ गएका हुन्। ढोरपाटन नजिकैको एउटा गाउँमा १२ दिनको अभिनय कार्यशालापछि उनीहरू काठमाडौँ फर्कनेछन्।
‘यानीमाया’ मा पलले स्थानीय एक युवाको भूमिका निर्वाह गर्नेछन्। निर्देशक सुवेदीका अनुसार यो चलचित्र सांगीतिक प्रेम कथा मा आधारित हुनेछ, जसमा अघिल्लो र नयाँ पुस्ताबीचको द्वन्द्व, आधुनिकतासँगै परम्परालाई जोगाउन गरिने संघर्ष को कथा समेटिनेछ। भदौ सुरु भएसँगै ढोरपाटनबाट छायांकन सुरु हुने ‘यानीमाया’ को केही भाग हङकङमा पनि छायांकन गर्ने योजना निर्माण पक्षको छ।