नेपाल बीमा प्राधिकरणले ईभी का लागि छुट्टै बीमा पोलिसी बनाउने तयारी गरेको छ । मोटर बीमा पोलिसीले ईभी बीमाको क्षतिलाई रक्षावरण गर्न नसक्ने भएपछि प्राधिकरणले ईभीका लागि छुट्टै पोलिसी बनाउने तयारी गरेको हो ।
ईभी पोलिसी बनाउनका लागि प्राधिकरणले नाडा अटोमोवाइल एसोसियसन नेपालसँग पटक पटक छलफल गरेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख केशव दाहालले बताए । प्राधिकरणले भन्सार विभागसँग पनि ईभी आयात र यसको प्रकृतिको विषयमा छलफल गरी सकेको छ । चीन र भारतबाट आयात हुने ईभीको जोखिमको प्रकृति फरक फरक हुने भएपछि पोलिसी निर्माणमा समय लागेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख दाहालले बताए ।
दाहालका अनुसार नाडाका पदाधिकारीको छलफलमा चीनबाट आयात भएका ईभीमा धेरै जोखिम हुने गरेकाे पाइयो । ‘चीनबाट आयात भएका ईभीका ब्याट्रीलाई पानीले छिटो बिगार्ने समस्या देखियो । गाडीको केही अंश पानीमा डुब्दा पनि ब्याट्री बिग्रने रहेछ,’ उनले भने । यसले नैतिक जोखिम सम्भावना पनि धेरै देखियो । ‘कसैले जानाजान गाडी पानीमा डुबाएर क्षति गराउन पनि सक्ने भयो,’ उनले भने । चीनबाट आयात भएका ईभीको तुलनामा भारतबाट आयात भएका ईभीमा यस्तो जोखिम कम भएको व्यवसायीको दाबी छ ।
चीन र भारतबाट आयात भएका ईभीमा जोखिमको रेसियो फरक फरक हुने भएपछि बीमाशुल्कदर पनि फरक पर्ने देखियो । यसै विषयमा व्यवसायी बीच सहमति हुन नसकेपछि प्राधिकरणले व्यवसायी र भन्सारसँग तथ्यांक मागेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख दाहालले बताए । ‘चीन र भारतबाट आयात हुने ईभीमा जोखिम फरक फरक देखियो । त्यसैले हामीले सम्बन्धित निकायहरूसँग तथ्यांक मागेका छौ । तथ्यांक प्राप्त भएपछि विश्लेषण गरेर पोलिसी बनाउँछौ,’ उनले भने । हाल कम्पनीहरूले ईभीको लागि पनि मोटर बीमा पोलिसी नै जारी गरी रहेका छन् ।