धितोपत्रको दोस्रो बजारमा अनलाईन लगईन लिने लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ । पछिल्लो ११ महिनामा मात्रै दोस्रो बजारमा कारोबारका लागि अनलाईन लगईन लिने लगानीकर्ताको संख्या ४ लाख १७ हजार २६३ ले थपिएको छ । यस्तै शेयरमा आवेदन गर्नका लागि डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ६८ लाख ६५ हजार पुगेको छ ।
धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८१-८२ को असार २० सम्म डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ६८ लाख ६५ हजार पुगेको छ । आ.व. २०८०-८१ को अन्त्यसम्ममा उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको थियो । त्यस्तै, आ.व. २०७९-८० को अन्त्यसम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ५८ लाख २३ हजार रहेको थियो ।
नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१-८२ को जेठ मसान्तसम्म अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या २६ लाख ३३ हजार ५ सय १० पुगेकोछ । आ.व. २०८०-८१ को अन्त्यसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ रहेको थियो । त्यस्तै आ.व. २०७९-८० को अन्त्यसम्म अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आ.व. २०८१-८२ को असार २० सम्म मेरो सेयर खाता लिनेको संख्या ५९ लाख ३३ हजार ७ सय भन्दा बढी पुगेको छ । आ.व. २०८०-८१ को अन्त्यसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो भने आ.व. २०७९-८० को अन्त्यमा मेरो शेयर खाता लिनेको संख्या ४७ लाख ४१ हजार ५५ हजार रहेको थियो ।
बोर्डका अनुसार गत आवको असार २० गतेसम्म ६४ संस्थालाई ५९ अर्ब ८४ करोड ९५ लाख रकम बराबरको निष्काशन स्वीकृत प्रदान गरिएको छ । जसमा साधारण शेयर निष्काशनतर्फ १४ संस्थालाई ३ अर्ब ८३ करोड २२ लाख रकम बराबरको तथा हकप्रद तर्फ १७ संस्थालाई १५ अर्ब ४१ करोड रकम बराबरको निष्काशन अनुमति प्रदान गरिएको छ भने थप निष्काशन तर्फ चार संस्थालाई १० करोड ७३ लाख रकम बराबरको निष्काशन अनुमति प्रदान भएको छ ।
त्यसैगरी ९ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रकम बराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरिएको छ भने अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रकम बराबरको सामूहिक लगानी योजना निष्काशन अनुमति प्रदान गरिएको छ । आ.व. २०८१-८२ को असार २० सम्म ८१ वटा संस्थाहरुको २३ अर्ब ९५ करोड १४ लाख रकम बराबरको बोनस शेयर दर्ता गराएका छन ।
बोर्डबाट विशिष्टीकृत लगानी कोष तर्फ ११ वटा योजनालाई ३७ अर्ब रकम बराबरको विशिष्टीकृत लगानी योजना निष्काशनका लागि स्वीकृति प्रदान गरिएको छ ।