आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पद्धार्थको खपत औसतमा ६.४१ प्रतिशतले बढेको छ । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको खपत बढेको छ ।
गत वर्षमा पेट्रोलको खपत सबैभन्दा धेरै ८.५० प्रतिशतले बढेको छ । गत आवमा कुल ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल आयात भएको विभागको तथ्यांक छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५८ हजार ४९० किलोलिटर धेरै हो । अघिल्लो आवमा कुल ६ लाख ८७ हजार ९३१ किलोलिटर पेट्रोल आयात भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा मट्टीतेलको खपत ७.७० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १२ हजार ८३६ किलोलिटर मट्टीतेल आयात भएकोमा गत आवमा १३ हजार ८२४ किलोलिटर आयात भएको छ ।
त्यसैगरी, गत आवमा हवाई इन्धनको खपत ६.१६ प्रतिशतले बढेको छ । गत आवमा अघिल्लो आवकोभन्दा १२ हजार १८२ किलोलिटर धेरै अर्थात् २ लाख १० हजार १२ किलोलिटर हवाई इन्धन आयात भएको छ ।
त्यस्तै, गत आवमा डिजेल आयात ३.८९ प्रतिशतले बढेको छ । अघिलो आवमा १४ लाख ११ हजार ४४० किलोलिटर डिजेल आयात भएकोमा गत आवमा १४ लाख ६६ हजार २८५ किलोलिटर आयात भएको छ । यो अघिल्लो आवको भन्दा ५४ हजार ८४५ किलोलिटर धेरै हो ।
गत वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि ५.८० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात भएकोमा गत वर्ष ५५ करोड २० लाख ४६ हजार किलो आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ३ करोड ४ लाख किलो धेरै ग्यास आयात भएको छ ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । गत आवमा निर्माण गतिविधि बढ्दा सिमेन्ट, डण्डी लगायत उद्योगको संचालन अवधि बढ्दा, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढेकाले डिजेलको खपत बढेको हो ।


