३० जेठ, काठमाडौं ।
आजबाट कान्ति बाल अस्पतालको ओपिडीको टिकट घरबाटै लिन मिल्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा टिकट अब घरबाटै लिन मिल्ने एप्सको शुभारम्भ गरेका हुन् ।
ढकालले एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।
सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।
यो सेवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्लेस्टोरमा गई ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ नामक मोबाइल एप डाउनलोड गरी प्राप्त गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ। यो सेवा आईओएस स्टोर तथा अस्पतालको वेबसाइट www.kantichildrenhospital.gov.np मार्फत पनि छिटै प्रयोग गर्न सकिने व्यवस्था मिलाउन लागिएको अस्पतालले जनाएको छ।
उपभोक्ताले उक्त एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।


