असोज ०५,काठमाडौं । नेपालमा सोमबार (आज) बाट लगातार ५ दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार देखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगामी ४÷५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ सहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो ।
आज (सोमबार) पनि देशभर सामान्य बदली रही अहिले प्रदेश १, २ का केही स्थानहरूमा पूर्ण बदलीका साथ थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली हुने र केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहुनका साथै प्रदेश १, २ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा प्रदेश १, २, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


