०७ असोज, काठमाण्डौ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.र मुक्तिनाथ क्यापिटलबीच सम्झौतामा हस्ताक्षर भएको छ । यिनीहरुबिच हकप्रद सेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको थियो ।
कम्पनीको १९औं वार्षिक साधारण सभाबाट पारित भई उक्त कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ शेयरको अनुपातमा ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएको थियो ।
कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ दरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद सेयर निष्काशन गरेपश्चात् कम्पनीको कुल चुक्तापुँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी तीन हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरी २०५६ सालबाट व्यापारिक उत्पादन गरिरहेको छ ।
हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गरिन बताएको छ ।


