काठमाडौँ– सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ। विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई चार करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ।
कोषले सबैभन्दा धेरै औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ। एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत दुई करोड ५८ लाख ४६ हजार १५५ भुक्तानी भएको छ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई १८ लाख ५० हजार ६ सय २९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट १ सय १७ लाभग्राहीलाई एक करोड ६२ लाख ५५ हजार ७ सय ८१ रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ।
चैत ११ गतेसम्म कोषमा ४ अर्ब ८० करोड योगदान संकलन भएको छ। कोषमा मासिक रूपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ।
यस्तै, ३१ प्रतिशत रकममध्येबाट कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्ट्याइनेछ।
कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ।
एक लाख ९४ हजार श्रमिक सूचीकृत
कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा बढी बागमती प्रदेशबाट एक लाख ४५ हजार ४५२, प्रदेश १ बाट २० हजार ५०, प्रदेश २ बाट १३ हजार ७९५, गण्डकीबाट सात हजार १५४, लुम्बिनीबाट छ हजार ८३९, सुदूरपश्चिमबाट ७७५ र कर्णालीबाट ४७० योगदानकर्ता सूचीकृत भएका छन्।
कोषमा आबद्ध हुने रोजगारदाताको संख्या १३ हजार ६१६ पुगेको छ। यसअन्तर्गत बागमती प्रदेशका नौ हजार १००, प्रदेश १ का एक हजार ८६०, लुम्बिनीका एक हजार १८०, प्रदेश २ का ५५०, गण्डकीका ६१७, कर्णालीका १४३ र सुदूरपश्चिमका १६६ छन्।


