बीवाइडीको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘एटो-टु’ नेपालमा सार्वजनिक हुँदैछ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भोलिदेखि सुरु हुने नाडा अटो शो २०२५ मा यसलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । यो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको हुनाले यसले नेपाली बजारमा हुन्डाई क्रेटा ईभी र नामी भिगो जस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एटो-वान ह्याचब्याक लन्च गरेको बीवाईडीले नाडा अटो शोमा एसयुभी ‘एटो-टु’ सार्वजनिक गर्न लागेको हो ।
नेपालका लागि एटो-टु मा ५१.३ किलोवाट आवरको ठूलो एलएफपी ब्याट्री उपलब्ध हुनेछ । जुन चिनियाँ बजारमा उपलब्ध मोडलभन्दा फरक रहेको कम्पनीले जनाएको छ । यो ब्याट्री साइज एटो-थ्री एड्भान्समा भएको भन्दा पनि ठूलो हो । यसले एक पटकको सिंगल चार्जमा ३४० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर, १७ इन्चको अलोय ह्वील, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटरी इन्फोटेन्मेन्ट डिस्प्ले, ५० वाटको वायरलेस चार्जर र ६ वटा एयरब्याग जस्ता फिचरहरू रहेका छन् ।
गाडीको शारीरिक बनावट पनि आकर्षक छ । यसको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम रहेको छ भने ह्वीलवेस २६२० एमएम छ, जसले भित्र प्रशस्त ठाउँ दिन्छ । कम्पनीले अहिलेसम्म एटो-टु को आधिकारिक मूल्य घोषणा गरेको छैन। तर, बजारमा यसको मूल्य ४५ लाखदेखि ४८ लाख रुपैयाँ भित्रै रहने अनुमान गरिएको छ। यस मूल्यमा यसले अन्य कम्प्याक्ट एसयूभीलाई कडा टक्कर दिने देखिन्छ । नेपाली बजारमा विद्युतीय गाडीको बढ्दो मागसँगै, एटो-टु को आगमनले यो क्षेत्रमा नयाँ उत्साह थप्ने देखिन्छ ।


