जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनका कारण नेपालको पर्यटन क्षेत्रले करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको छ। प्रदर्शनमा राज्यका प्रमुख अंगहरूमाथि भएको आक्रमणले मुलुकको अन्तर्राष्ट्रिय छवि मात्र नभई आर्थिक क्षेत्र विशेषगरी पर्यटन क्षेत्रमा पनि गहिरो असर पारेको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शन ठीक पर्यटकीय सिजन सुरु हुनुअघि परेकाले केही विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन्। यसले पर्यटन व्यवसायमा अन्यौलता सिर्जना गरेको छ। प्रदर्शनका क्रममा केही होटल, यातायात, र अन्य पर्यटकीय पूर्वाधारमा क्षति पुगेको छ भने धेरै पर्यटक अझै गन्तव्यमा रहेका छन् वा स्वदेश फर्किने तयारीमा छन्।
यद्यपि, यो अवस्था विगतका भूकम्प, नाकाबन्दी वा कोभिड महामारीजस्तो गम्भीर नभएकोले पर्यटन क्षेत्रको पुनःरुत्थान चाँडै सम्भव हुने अपेक्षा गरिएको छ। हाल देशभर करिब १५ हजार विदेशी पर्यटक रहेका छन्। उनीहरूको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ भने पर्यटन क्षेत्रको समग्र क्षतिको मूल्याङ्कन कार्य अघि बढाइएको छ।
पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा निजी संस्थाहरूले पुनःरुत्थानको योजना तयार गरिरहेका छन्। समन्वयात्मक रूपमा सकारात्मक सन्देश प्रवाह गर्न, ट्राभल एडभाइजरीमा सुधार ल्याउन र पूर्वाधार मर्मत तथा पुनःनिर्माणमा ध्यान केन्द्रित गरिँदैछ। साथै, पर्यटन व्यवसायमा पुनःआशा जगाउने उद्देश्यले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार, सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटक नेपाल आएका थिए भने अगष्टमा ८८ हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो। गत वर्ष सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यी तथ्याङ्कले पर्यटन क्षेत्र विस्तारै गतिमा फर्किंदै गरेको सङ्केत दिएको छ।
सङ्कटका बीच पनि नेपाल पर्यटनको पुनःरुत्थान सम्भव रहेको देखिन्छ। पूर्वाधारमा आंशिक क्षति पुगे पनि प्रमुख पर्यटकीय गतिविधिहरू—जस्तै पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा उल्लेखनीय असर नपरेको देखिन्छ। यसैले, छरितो पुनःरुत्थानका लागि समन्वय, नीतिगत प्राथमिकता र प्रचार–प्रसारलाई जोड दिइँदैछ।


