Banijya News

पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

1
1.4K Shares

नेपालको पर्यटन विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेकी व्यवसायी लाक्पा फुटी शेर्पाको पर्यटन मन्त्रीको रूपमा यतिबेला चर्चा भइरहेको छ । सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी समाजसेवीका रूपमा समेत चिनिएकी शेर्पाले दुई वटा पुस्तक ‘हिमालमा चालीस वर्ष’, ‘हिमालकी छोरी’ र आत्मकथा ‘फोर्टी इयर्स इन् माउन्टेन’ प्रकाशित छन् ।

सन् १९९३ मा पासाङ ल्हामु शर्पासँगै सगरमाथा आरोहण दलमा रहेकी उनले सगरमाथा तथा ग्योको आरोहण गरिसकेकी छन् । विभिन्न सामाजिक संस्थाहरूकी निर्देशक तथा अध्यक्षता गरिसकेकी उनी चेम्बर अफ कमर्शको कार्यकारी सदस्यसमेत रहिसकेकी छन् ।

बाल्यावस्थाबाट नै किताब पढ्न रूचि राख्ने उनलाई एक महिना स्कूल पढेपछि घरमा सघाऊ भन्दै पढ्न रोके । भाइ भने स्कूल जाने अनि आफू सघाउनु पर्दा उनलाई दुःख लाग्थ्यो । तापनि घाँस काट्न गएजस्तो गरेर लुकिछिपी स्कूल जाने गर्थिन् ।

हजुरआमा र हजुरबुवा चाँडै बितेकाले बुवाआमाले कठोर परिश्रम गरेर आफू र भाइबहिनीलाई हुर्काएको देखेकी लाक्पाले कडा अनुशासन र सिकाइलाई जानिन् । उनका बुवा सिजनमा हिमालमा जाने र बेसिजनमा फार्मिङ गर्ने गर्थे । आमाबुवा ज्यादै मिहिनेती भएकाले त्यो कला उनले पहिल्यै सिकिन् । संघर्ष गर्न उनलाई त्यही अनुशासनले सिकायो ।

उनले पछि विभिन्न हिमाली यात्रामा पोर्टरका रूपमा काम पनि गरिन् । यसरी यात्रामा जाँदा यौन दुर्व्यवहार पनि भोग्नु पर्यो । उनी भन्छिन्, ‘आफू दरिलो हुनुपर्छ भन्ने मैले त्यहीँ सिकेँ ।’

यात्रामा रक्सी खाने र दुर्व्यवहार गर्ने गरेको देखेपछि उनले त एक पटक एक जना दुर्व्यवहार गर्ने व्यक्तिलाई टाउकोमा बेल्नाले हानेर तह लगाएकी थिइन् ।

पछि उनले स्वीट्जरल्यान्डमा विवाह गरेर बसिन् तर त्यहाँ हुँदा नेपालको ज्यादै याद आएकाले एक दशकपछि स्वदेश फर्किइन् । उनले स्विट्जरल्यान्डमा हरकोहीले स्की रिसोर्ट खोल्ने गरेपछि उनी छक्क पर्थिन् । ‘स्की त स्वीट्जरल्यान्डको खेतीपाती नै रहेछ,’ उनी भन्छिन्, ‘जब जब म झ्याल खोलेर हेर्थें, मलाई नेपालको याद आउँथ्यो । हेर्दा नेपालजस्तो तर नेपाल धेरै दुर्गम महसूस हुन्थ्यो ।’

उनलाई त्यतिबेलै नेपालमा किन हिमाल आरोहीहरूले देश छाडेर जाँदा रहेछन् भन्ने मनन गर्ने अवसर भयो । कम पढेलेखेको हुँदा सिजनबाहेक अन्य बेला कुनै काम पाउँदैनथे । काम पाए पनि उनीहरू थोरै ज्यालामा चित्त बुझाउनु पर्थ्यो । धेरै विदेशीहरूले शेर्पाको सहयोग लिने भए पनि कहिल्यै तिनको सेवाका बारेमा कृतज्ञ नभएको पनि देखिन् ।

उनी भन्छिन्, ‘सगरमाथा वा हिमाल आरोहणपछि सेलिब्रिटी शेर्पाले कुनै एउटा उत्पादनको ब्रान्ड एम्बेसडर हुने अवसर मात्र पाउँछ । उनीहरूलाई राम्रो एकेडेमिक शिक्षा दिन सके, संसारभर आरोहणबारे लेक्चर दिन सक्थे । उनीहरूले आरोहणबाहेक लेक्चररका रूपमा पनि प्रतिष्ठा पाउने थिए ।’

उनको चिन्ता चाहिँ, संसारभरिका धनी र चलाख देशहरूले नेपालका उत्पादन, बाली, बिउविजन, जडिबुटी सबैलाई नयाँ नामकरण गरेर आफ्नो बनाए । कतै हिमालको कपिराइट पनि उनीहरूले नलैजाऊन् । त्यही चिन्ताका कारण उनले नेपाल माउन्टेन एकेडेमी बनाउन तीव्र रूपमा लागिपरिन् । अहिले उनले देखाएकी छन्, शेर्पाहरू आरोही र ब्रान्ड एम्बेसडरबाहेक पनि अरू काम गर्न सक्छन् । एकेडेमिक रूपमा पनि उनीहरू सशक्त हुन सक्छन् ।’

एकेडेमीमा वर्षौं पोटर भएर काम गरिसकेका, अरूलाई आरोहण गर्न सफल तुल्याएका कयौं शेर्पाहरूले औपचारिक अध्ययन गर्न थालेका छन् । कम्तीमा आफूले यस कार्यलाई पूरा गर्न पाएकामा उनी निकै खुशी छन् ।

उनी भन्छिन्, ‘समुद्र हुनेले त्यसलाई अध्ययनको मुख्य विषय बनाउँछन्, ज्वालामुखी हुनेले त्यसैलाई मुख्य विषय बनाइरहेका छन्, हामीले माउन्टेन एकेडेमी बनाउन ढिला भइसक्यो भन्ने सोच्दै नेपाल माउन्टेन एकेडेमी स्थापना गरेको हो ।’

यसका लागि त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन लिन जाँदा धेरैले गिल्ला गरे, केहीले हाँसेर टारे । पछि यही एकेडेमीबाट सम्बन्धन लिन धेरै अन्तर्राष्ट्रिय कलेजहरूले उनलाई गुहारिरहेको पनि थिए । उनले त्यसमा चासो दिइनन् । उनको ध्याउन्न नै संसारकै पहिलो माउन्टेन एकेडेमी बनाउनु थियो । हाल यसको नाम नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान रहेको छ । यहाँ केही अन्तर्राष्ट्रिय शिक्षार्थीहरूले पनि अध्ययन गरिरहेका छन् ।

उनले एकेडेमीमा ८ वर्ष कार्यकारी निर्देशकका रूपमा काम गरिन् । पछि थप समय दिइरहेका बेला उनलाई बेलाबखतमा मन्त्री पदका लागि अनुरोध पनि हुने गरेको उनी खुलासा गर्छिन् ।

‘एक दिन मलाई यति एयरलाइन्सका आङ छिरिङ दाइले पर्यटन मन्त्रीका लागि कुरा गरिदिन्छु भन्नु भएको थियो,’ उनले खुलासा गर्दै भनिन्, ‘मैले मानिनँ किनभने त्यो बेला एकेडेमी बामे सरिरहेको थियो । यसलाई अन्तर्राष्ट्रिय पहिचान दिनुपर्ने बेलामा म मन्त्री भएपछि एकेडेमी ध्वस्त हुन्छ भन्ने सोचेर अस्वीकार गरेकी थिएँ ।’

एक पटक प्रेम आले पर्यटन मन्त्री हुँदा उनलाई एकेडेमीबाट बर्खास्त गरी अरूलाई नै पदस्थापन गर्दा दुःखी भएकी थिइन् । तर सर्वोच्चले पुनस्थापना गरिदियो । यस क्षेत्रमा लोभीपापीका कारण गर्न सकिने काम पनि गर्न नसकिएकामा उनी चित्त दुखाउँछिन् । पर्यटन र हिमालका बारेमा जानकार नभएका मान्छे बरोबर यस क्षेत्रमा आउने, मन्त्री हुने हुँदा तिनको स्वार्थले यस देशमा गर्नुपर्ने र हुनुपर्ने काम पनि हुन नसकेकोमा उनी दुःखी छन् ।

जीवनमा छोराहरू जन्मदा र तिनको अनुहार देख्दा आफ्नो सारा प्रशव पीडा बिर्सने उनी भन्छिन्, ‘जीवनमा सबैभन्दा अप्ठेरो चाहिँ पासाङ ल्हामु शेर्पा बित्दा उनका छोरीहरूलाई कसरी अनुहार देखाउनु भन्ने परेको अप्ठेरो कहिल्यै बिर्सन्नँ । आज उनीहरूले ठूलो प्रगति गरेको देख्दा निकै खुशी लाग्छ ।’

खुशीको अर्को पल बाँड्दै उनले भनिन्, ‘मैले फोर्टी इयर्स इन माउन्टेन किताब पढ्न भनेर बेलायती राजकुमार चार्ल्सलाई पठाएकी थिएँ । पछि उनी राजा भएपछि किताब पढेर प्रतिक्रिया दिएको पत्र पाउँदा ज्यादै खुशी लाग्यो ।’

उनी भन्छिन्, ‘मैले जीवनमा नसोचेको सफलता हात पारेँ । आफ्नै हुटहुटी, केही गरेर देखाउने सपनाका कारण अघि बढेँ । अघि बढ्न धेरै दाजुभाइले सहयोग गरे । मलाई सहयोग गरेजस्तै शेर्पा दाजुभाइले आफ्ना छोरी, चेली र श्रीमतीहरूलाई अघि बढाऊन् । उनीहरूले पनि यो देशमा गर्न सक्ने कुरा धेरै छन् ।’

1

Scroll to Top