चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि दर सुस्त देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ कर्जा चार दशमलव चार प्रतिशतले बढी पाँच खर्ब ७४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा वृद्धि दर छ प्रतिशत रहेको थियो। वार्षिक विन्दुगत आधारमा भने कर्जा वृद्धि छ दशमलव सात प्रतिशत रहेको छ । कर्जा संरचनामा गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२ दशमलव सात प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फको हिस्सा सैंतीस दशमलव तीन प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा संस्थागत क्षेत्रको हिस्सा केही घट्दा व्यक्तिगत कर्जामा सामान्य वृद्धि देखिएको छ ।
संस्थागत आधारमा कर्जा विस्तारमा वाणिज्य बैंकहरू अगाडि देखिएका छन्। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा चार दशमलव छ प्रतिशतले बढ्दा विकास बैंकहरूको तीन दशमलव पाँच प्रतिशत र वित्त कम्पनीहरूको एक दशमलव नौ प्रतिशतले मात्र वृद्धि भएको छ। धितो संरचनामा घरजग्गाको प्रभुत्व कायम छ। कुल कर्जामध्ये ६३ दशमलव आठ प्रतिशत कर्जा घरजग्गा धितोमा आधारित रहेको छ भने चालु सम्पत्तिमा आधारित कर्जा पन्ध्र प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा घरजग्गा धितोको हिस्सा केही घटेको देखिन्छ।
क्षेत्रगत रूपमा कर्जा प्रवाह हेर्दा उपभोग्य क्षेत्रमा सबैभन्दा बढी वृद्धि देखिएको छ, जहाँ दश दशमलव पाँच प्रतिशतले कर्जा बढेको छ। त्यसपछि निर्माण क्षेत्रमा आठ दशमलव आठ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा सात दशमलव सात प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा पाँच दशमलव छ प्रतिशत र सेवा उद्योग क्षेत्रमा एक दशमलव आठ प्रतिशत वृद्धि भएको छ। तर कृषि क्षेत्रमा दुई प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा दुई दशमलव सात प्रतिशतले कर्जा घटेको छ।
कर्जा उपकरणका आधारमा आयातसँग सम्बन्धित ट्रष्ट रिसिट कर्जा २३ दशमलव दुई प्रतिशतले बढेको छ भने मार्जिन कर्जा एघार दशमलव एक प्रतिशत र हायर पर्चेज कर्जा आठ दशमलव छ प्रतिशतले वृद्धि भएको छ। अन्य कर्जाहरूमा सामान्य वृद्धि हुँदा अधिविकर्ष कर्जा भने दुई दशमलव सात प्रतिशतले घटेको छ।
यसैबीच तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको देखिन्छ। समीक्षा अवधिमा तेत्तीस खर्ब असी अर्ब पच्चीस करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको सोह्र खर्ब एक अर्ब पच्चीस करोड रुपैयाँको तुलनामा धेरै बढी हो।
विदेशी विनिमय बजारमार्फत राष्ट्र बैंकले चार अर्ब ६५ करोड अमेरिकी डलर खुद खरिद गरी छ खर्ब ६५ अर्ब दस करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। साथै दुई अर्ब ६२ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब चौहत्तर अर्ब पैंतीस करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको छ।


