नेपालको लघुवित्त वित्तीय क्षेत्रमा अहिलेसम्मकै ठूलो संस्थागत एकीकरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। देशका तीन प्रमुख लघुवित्त संस्थाहरू—जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि वित्तीय क्षेत्रमा व्यापक चासो र बहस सिर्जना भएको छ। यसलाई सामान्य कम्पनीगत गाभिनेमात्र नभई लघुवित्त संरचनामा दीर्घकालीन प्रभाव पार्ने रणनीतिक कदमका रूपमा हेरिएको छ। जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीचको मर्जर नेपालका लागि लघुवित्त क्षेत्रको नयाँ अध्यायको सुरुवातका रूपमा देखिएको हो । यदि यो एकीकरण सफल भयो भने अन्य लघुवित्त संस्थाहरूलाई पनि एकीकरणतर्फ प्रेरित गर्ने छ। दीर्घकालमा वित्तीय प्रणालीलाई स्थिर, सुदृढ र प्रविधिमैत्री बनाउने आधार तयार पार्ने विश्वास गरिएको हो ।
सम्झौतापछि बन्ने एकीकृत संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। यसले पुरानो ब्रान्ड पहिचानलाई निरन्तरता दिँदै नयाँ संरचनामा अघि बढ्ने रणनीति अपनाएको देखिन्छ। केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा नै रहनेछ भने युनिकको बाँकेको कोहलपुर र मानुषीको काभ्रेपलाञ्चोकको बनेपास्थित कार्यालयहरूलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिनेछ। यसबाट प्रशासनिक विकेन्द्रीकरण कायम राख्दै केन्द्रीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
तीनै संस्थाका शीर्ष नेतृत्वबीच भएको समझदारीपछि मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी तथा मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले दीर्घकालीन स्थायित्व, पूँजीगत सुदृढीकरण र जोखिम व्यवस्थापन सुधारलाई मर्जरको मुख्य उद्देश्यका रूपमा अघि सारेका छन्।
एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल जीवन विकास लघुवित्तका सीईओ सञ्जयकुमार मण्डल रहने निश्चित भएको छ। उनले पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका चुनौतीहरू—जस्तै ऋण असुलीमा समस्या, ग्राहकमा बढ्दो ऋणभार, तीव्र प्रतिस्पर्धा तथा नियामक दबाब—लाई ध्यानमा राख्दै ठूलो र सुदृढ संस्थागत संरचनाको आवश्यकता महसुस गरिएको बताएका छन्। उनका अनुसार साना–साना संस्थाहरूको तुलनामा एकीकृत संरचनाले जोखिम वहन क्षमता बढाउनुका साथै प्रविधिमा आधारित सेवा विस्तारलाई सहज बनाउनेछ।
हाल तीनै संस्थाहरूले देशका विभिन्न भूभागमा आफ्नो सेवा विस्तार गरिसकेका छन्। जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० भन्दा बढी शाखामार्फत करिब तीन लाख १५ हजार सदस्यलाई सेवा दिइरहेको छ। युनिक नेपालले १० जिल्लामा करिब ८० हजार सदस्यलाई सेवा पु¥याउँदै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा करिब ३४ हजारभन्दा बढी सदस्यलाई समेटेको छ। यी तीन संस्थाको ग्राहक आधार एकीकृत भएपछि लघुवित्त क्षेत्रमा ठूलो सेवा सञ्जाल तयार हुने देखिएको छ।
पुँजी संरचनाका हिसाबले पनि यो मर्जर महत्वपूर्ण मानिएको छ। जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोडभन्दा बढी छ भने युनिक नेपालको करिब १४ करोड ८५ लाख र मानुषीको करिब १० करोड ९३ लाख रुपैयाँ रहेको छ। एकीकृत भएपछि कुल पुँजी आधार उल्लेखनीय रूपमा बढ्नेछ, जसले ऋण प्रवाह क्षमता विस्तार गर्न र जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको हो ।
मर्जरपछि संस्थागत सञ्चालन प्रणालीमा पनि व्यापक परिवर्तन हुनेछ। तीनै संस्थाका कर्मचारीलाई समायोजन गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको छ। सबै कर्मचारीलाई नयाँ संरचनाभित्र समेट्ने निर्णयले संस्थागत निरन्तरता कायम राख्नुका साथै आन्तरिक असन्तुलन र असन्तोषलाई न्यून गर्ने लक्ष्य राखिएको छ। कर्मचारी व्यवस्थापनलाई सहज बनाउन स्पष्ट कार्ययोजना तयार पारिने जनाइएको छ।
मर्जर प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन संयुक्त मर्जर समिति गठन गरिएको छ। समितिको संयोजकमा जीवन विकास लघुवित्तका सञ्चालक प्रकाशकुमार श्रेष्ठ रहेका छन्। समितिमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारु, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल सदस्यका रूपमा छन् भने दामोदर रेग्मी सदस्यसचिव रहेका छन्। समितिले सम्पूर्ण एकीकरण प्रक्रिया, शाखा पुनर्संरचना, नीतिगत समायोजन तथा मानव संसाधन व्यवस्थापनको समन्वय गर्ने जिम्मेवारी पाएको हो ।
सम्झौताअनुसार २०८३ साल असार मसान्तभित्र मर्जर प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ। त्यसपछि एकीकृत संस्थाले पूर्ण रूपमा कारोबार सञ्चालन गर्नेछ। समयसीमा भित्र आवश्यक नियामकीय स्वीकृति, सम्पत्ति मूल्यांकन, दायित्व समायोजन र प्राविधिक एकीकरणका काम सम्पन्न गरिनेछ।
नेपालको लघुवित्त क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका समस्या गम्भीर बन्दै गएका छन्। विशेषगरी ऋण असुलीमा चुनौती, ग्राहकहरूको अत्यधिक ऋणभार, एउटै ग्राहकलाई धेरै संस्थाबाट ऋण प्रवाह (दोहोरो ऋण), तीव्र प्रतिस्पर्धा र नियामक निकायको कडाइले संस्थाहरूलाई दबाबमा राखेको छ। यस्ता चुनौतीहरू समाधान गर्न संरचनात्मक सुधार आवश्यक भएको भन्दै मर्जरलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार यस्तो एकीकरणले लघुवित्त क्षेत्रमा ‘स्केल इकोनोमी’ (आकारको लाभ) सिर्जना गर्नेछ। ठूलो संस्थाले प्रशासनिक खर्च घटाउन, प्रविधिमा लगानी बढाउन र सेवा गुणस्तर सुधार गर्न सक्छ। साथै, जोखिम व्यवस्थापन प्रणाली बलियो हुँदा खराब कर्जा (एनपीएल) नियन्त्रणमा राख्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको हो ।
यद्यपि, मर्जरपछि केही चुनौतीहरू पनि देखिन्छन्। फरक–फरक संस्थागत संस्कृतिको समायोजन, कर्मचारी व्यवस्थापन, सेवा गुणस्तर कायम राख्ने दबाब र ग्राहकको विश्वास जोगाइराख्ने चुनौती प्रमुख छन्। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका साना ऋणीहरूलाई सेवा निरन्तरता दिनु र जिम्मेवार ऋण प्रवाह कायम राख्नु अत्यन्तै महत्वपूर्ण हुनेछ।
ग्राहक केन्द्रित सेवा, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राख्दै अघि बढ्न नसके मर्जरले अपेक्षित परिणाम दिन नसक्ने विज्ञहरूको चेतावनी छ। त्यसैले एकीकृत संस्थाले वित्तीय लाभसँगै सामाजिक दायित्वलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने देखिन्छ।


