सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपाने ले देशका विभिन्न पहाडी क्षेत्रमा बढ्दो बाँदर आतंक नियन्त्रणका लागि ‘डमी बाघ’ (नक्कली बाघ) प्रयोग गर्ने उपाय संसद्मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यसलाई सस्तो, प्रभावकारी र वैज्ञानिक उपायका रूपमा अघि सारेका हुन्।
न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रका किसानहरूको समस्या उल्लेख गर्दै बाँदरका कारण कृषि उत्पादनमा गम्भीर असर परेको बताए। उनका अनुसार किसानहरू दिनभर खेतबारीमा कुरुवा बस्न बाध्य छन् भने कतिपयले आफ्नो खेती नै छोड्ने अवस्था आएको छ। “एक किसानले मलाई फोन गरेर भन्नुभयो—माननीयज्यू, सडक र विकास पछि भए पनि हुन्छ, तर बाँदरबाट अन्नबाली जोगाइदिनुप¥यो,” उनले संसद्मा आफ्नो अनुभव सुनाए।
उनले हालै तनहुँ जिल्लाको शुक्लागण्डकी–३ मा रहेका किसान पहलसिंह गुरुङको सुन्तला बगान भ्रमण गरेको प्रसंग पनि उल्लेख गरे। त्यहाँ उनले १२ सय रुपैयाँमा किनिएको डमी बाघले दुई सिजनसम्म सुन्तला बाली जोगाउन सफल भएको अनुभव सुनेको बताए।
उनका अनुसार पहिलो वर्ष डमी बाघ राखेपछि बाँदर बगानमा आउनै छोडे। दोस्रो वर्ष भने डमी बाघको स्थान दैनिक परिवर्तन गर्नुपर्ने देखियो। तेस्रो वर्ष केही चतुर बाँदरले त्यसलाई बेवास्ता गर्न थाले पनि प्रारम्भिक दुई वर्षसम्म यसले पूर्ण रूपमा बाली जोगाएको उनले बताए।
न्यौपानेले बाँदरको स्वभावबारे उल्लेख गर्दै “जहाँ बाघ बस्छ, त्यहाँ बाँदर बस्दैन” भन्ने व्यवहारिक तथ्य प्रस्तुत गरे। गाउँघरमा वास्तविक बाघ देखिएको वर्ष बाँदर नै नदेखिएको उदाहरणहरू पनि रहेको उनले बताए। त्यसैले डमी बाघमा आधुनिक प्रविधि थपेर अझ प्रभावकारी बनाउन सकिने उनको तर्क छ।
उनले चलायमान (मोबाइल) डमी बाघ, सेन्सरयुक्त गर्जन, बाघको गन्ध आउने स्प्रे, आँखा झल्किने लाइट जस्ता उपाय अपनाएर कम खर्चमा राम्रो नतिजा निकाल्न सकिने सुझाव दिए। उनका अनुसार बाँदर मार्ने होइन, वैज्ञानिक र मानवीय तरिकाले नियन्त्रण गर्ने नीति आवश्यक छ।
यसै सन्दर्भमा उनले सरकारसँग तीन प्रमुख माग राखेका छन्। पहिलो, तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याइनुपर्ने। दोस्रो, बाँदर प्रभावित क्षेत्रलाई ‘विशेष बाँदर सुरक्षा क्षेत्र’ घोषणा गर्नुपर्ने। र तेस्रो, डमी बाघ प्रणालीसँगै भारत लगायत अन्य देशमा अपनाइएको बन्ध्याकरण (स्टेरिलाइजेसन) कार्यक्रमलाई समन्वय गरेर लागू गर्नुपर्ने।
न्यौपानेको भनाइले कृषि क्षेत्रको वर्तमान संकटतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। बाँदर आतंकका कारण किसानहरू विस्थापित हुने, उत्पादन घट्ने र खाद्य सुरक्षामा असर पर्ने अवस्था बढ्दै गएको उनले औंल्याए।
उनको प्रस्तावले संसद्मा नयाँ बहस सिर्जना गरेको छ। अब सरकार यस विषयमा कस्तो नीति र कार्यक्रम ल्याउँछ भन्ने चासो बढेको छ। किसानको समस्या समाधानका लागि परम्परागत उपायभन्दा फरक, नविन र व्यावहारिक समाधान खोज्नुपर्ने आवश्यकता उनले स्पष्ट पारेका छन्।


