नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लगाएको अवरोधका कारण करोडौं मूल्यका चिया गोदाममै थन्किएका छन् । भारतले लगाएको सो अवरोधको विरोधमा इलाम र झापाका चिया उद्योग तथा बगानहरु बन्द भएका छन् । चिया निर्यातमा पछिल्लो समय उत्पन्न जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले जनाएको छ ।
नेपालबाट निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाको नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन, बिक्री वितरण र निर्यात शृंखला नै प्रभावित भएको एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसले गर्दा विशेषगरी नेपालको पूर्वी क्षेत्रमा रहेका चिया उद्योगहरु बन्द हुन थालेका तथा सयौं चिया बगान प्रभावित भएका छन् ।
नेपालभर करिब १२० वटा चिया उद्योग, हजारौं किसान तथा करिब ५० देखि ६० हजार श्रमिकको रोजगारीसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । यस क्षेत्रको गतिविधि ठप्प हुनु भनेको नेपालको निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय बजारमा सिर्जना भएको यस प्रकारको अवरोधले चिया उद्योगी तथा निर्यातकर्ताहरु मात्र समग्र नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पुर्याएको एसोसिएसनले जनाएको छ ।
नेपालको निर्यात प्रवद्र्धन तथा व्यापार सहजीकरणमा चिया क्षेत्रले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक पहल गर्न एसोसिएसनले आग्रह गरेको छ । भारतीय सम्बन्धित निकायसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएको प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाई व्यापारलाई सहज, सरल र निर्वाध बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
चिया व्यवसायीहरूले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियालाई निर्यात रोक्ने रणनीतिको रूपमा व्याख्या गरेका छन् । भारतले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) अनुसार नेपाली चियाको शतप्रतिशत परीक्षण गर्न थालिएको छ । पहिले ५४ वटा मापदण्डमा परीक्षण हुने चिया अहिले २६० वटा मापदण्डमा परीक्षण हुन थालेको उद्योगीहरू बताउँछन् । गुणस्तरको नाममा बारम्बार नेपाली चियामाथि अवरोध सिर्जना हुँदै आएको र यसले नेपाली उत्पादनलाई बजारमा कमजोर बनाउने प्रयास भएको उनीहरूको आरोप छ । साथै, दार्जिलिङ ब्रान्डका नाममा नेपाली चिया मिसाएर बिक्री हुने अभ्यास भने भारततर्फबाटै हुने तर नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाइने दोहोरो मापदण्ड रहेको उनीहरूको दाबी छ ।
झापामा मात्र ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन बगान असार ४ गतेदेखि पूर्ण रूपमा बन्द भएका छन् । नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र मानिने झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, जसमध्ये ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिया भारततर्फ निर्यात हुने व्यवसायीहरूको तथ्यांक छ । उद्योगहरूले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व राज्यलाई बुझाउने गरेका छन् । कुल चिया निर्यातको ९० देखि ९५ प्रतिशत हिस्सा भारतीय बजारमा जाने गरेको छ । इलाममा मात्रै वार्षिक ६५ लाख किलो चिया उत्पादन हुन्छ भने झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ ।
यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन जोडिएको छ । निर्यात अवरुद्ध हुँदा उत्पादित चिया उद्योगमै थन्किन थालेको, नगद प्रवाह प्रभावित भएको र किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत समस्या देखिएको व्यवसायीहरूको भनाइ छ ।
अहिले चिया उद्योगहरु ठप्प हुँदा अर्बौं लगानी जोखिममा परेको छ । चिया उद्योग गम्भीर संकटमा परेपछि बैंकिङ क्षेत्रमा समेत थप दबाब पर्ने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको तथ्यांक अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले चिया तथा कफी क्षेत्रमा मात्र ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् । यो रकम कुल कृषि कर्जा ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँको तुलनामा सानो देखिए पनि चिया क्षेत्रको सन्दर्भमा निकै ठूलो हो ।
चिया उद्योगहरूमा मेसिनरी खरिद, उद्योग विस्तार, प्रशोधन केन्द्र निर्माण तथा निर्यात व्यवसाय सञ्चालन आदिमा बैंकहरूले कर्जा प्रवाह गरेका छन् । यदि अहिलेको अवरोध लामो समयसम्म रहेमा उद्योगहरू प्रभावित हुने र यसले कर्जा भुक्तानीमा असर पर्नेछ । जसको प्रत्यक्ष असर बैंकहरूको खराब कर्जामा देखिन सक्ने अनुमान गरिएको छ ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार चिया उद्योगमा देखिएको संकट तत्काल समाधान नभए यस क्षेत्रमा प्रवाह भएको कर्जा क्रमशः समस्याग्रस्त बन्न सक्छ । विशेषगरी पूर्वी नेपालका चिया उद्योगमा लगानी गरेका बैंकहरू बढी प्रभावित हुन सक्छन् । चिया उद्योग बन्द हुँदा उद्योगीले बैंकको साँवा–ब्याज तिर्न नसक्ने, किसानले हरियो पत्ती बिक्री गर्न नपाउने र मजदुरको आम्दानी रोकिने अवस्था सिर्जना हुन्छ ।
यसरी हेर्ने हो भने चिया उद्योगको संकटले उद्योगीहरू मात्र होइन, यसको असर किसान, मजदुर, व्यापारी, ढुवानी व्यवसायी, निर्यातकर्ता र बैंकिङ क्षेत्रसम्म फैलिने देखिन्छ । चिया उद्योगमा देखिएको संकटले सम्पूर्ण मूल्य शृंखलालाई असर गर्ने खतरा बढेको छ ।
अहिले भारत नै चियाको प्रमुख बजार भएकाले पटक–पटक यस्ता अनेक समस्या झेल्नुपर्ने र चिया उद्योग नै संकटमा पर्ने गरेको छ । त्यसैले, सरकारले हालको समस्या समाधानका लागि विशेष पहल गर्न अति जरुरी भइसकेको छ । साथै, चियाको बजारीकरणका लागि भारतबाहेक पाकिस्तान, मध्यपूर्व, रुस तथा अन्य तेस्रो मुलुकमा बजार विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । व्यवसायीका अनुसार, अर्थोडक्स चियाका लागि युरोप, अमेरिका र जापानमा सरकारी स्तरको प्रवद्र्धन आवश्यक रहेको छ । चिया उद्योगमा दीर्घकालीन रूपमा भारतसँगको निर्भरता घटाउन कूटनीतिक पहल गर्नुका साथै व्यापार सम्झौता पुनरावलोकन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।


