अब ऋण लिन बैंक नै जानुपर्दैन ! सुन्दा अनौठो लागे पनि नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्तिबीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन । यो वित्तीय प्रणालीमा ऋण दिने र लिने व्यक्ति सिधै एकअर्कासँग जोडिन्छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक भइसकेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक गरिएको मौद्रिक नीतिको सबैभन्दा महत्वपूर्ण र नवीन पक्ष नै व्यक्तिगत क्रेडिट स्कोरिङ ‘पीयर टू पीयर’ लेनदेन प्रणालीको अध्ययन सुरु गर्ने घोषणा हो ।
पीटुपी लेन्डिङ विशेषगरी व्यक्तिगत क्रेडिट स्कोरमा आधारित हुनेछ । क्रेडिट स्कोरका आधारमा ऋण लिने व्यक्तिको भुक्तानी क्षमता र जोखिम मापन गरिने हुनाले वित्तीय कारोबार थप व्यवस्थित र सुरक्षित हुने बैंकको विश्वास छ । यो व्यवस्था कार्यान्वयनमा आएमा परम्परागत बैंकभन्दा बाहिर रहेका व्यक्तिहरूले पनि सहजै कर्जा आदानप्रदान गर्न सक्नेछन्, जसले वित्तीय पहुँच र डिजिटलाइजेसनमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार, यो एउटा वेबसाइट वा मोबाइल एप (प्लेटफर्म) मार्फत सञ्चालन हुन्छ । यसले ऋण चाहिने व्यक्ति र लगानी गर्न चाहने व्यक्तिलाई एउटै ठाउँमा भेट गराउँछ । र, लगानीकर्ताले आफ्नो बचत सिधै ऋणीलाई ऋणको रूपमा दिन सक्नेछन् ।
ऋण चाहिने व्यक्तिले पीटुपी प्लेटफर्ममा निवेदन दिन्छ । प्लेटफर्मले प्रविधिको प्रयोग गरेर उक्त व्यक्तिको ऋण तिर्न सक्ने क्षमता जाँच गर्छ । लगानीकर्ताहरूले आफ्नो रकम प्लेटफर्ममा राख्छन् र ऋणीको प्रोफाइल हेरेर कसलाई ऋण दिने भन्ने छनौट गर्छन् । यसमा धेरैजना लगानीकर्ताको सानो–सानो रकम मिसाएर एकजना ऋणीलाई ठूलो ऋण दिइन्छ । बैंकमा पैसा राख्दा पाइने ब्याजभन्दा पीटुपी मार्फत ऋण दिँदा बढी ब्याज पाइने सम्भावना हुन्छ । यस माध्यमबाट कर्जा लिँदा दिँदा बैंकको झन्झटिलो प्रक्रिया, धेरै कागजपत्र र कडा धितोको प्रावधान विना नै स्टार्टअप, साना व्यवसायी वा व्यक्तिगत आवश्यकताका लागि छिटो ऋण पाउन सकिन्छ ।
राष्ट्र बैंकले नेपालमा पनि यस्तो प्रणाली सुरु गर्न सकिन्छ कि भनेर दुई वर्षअघि देखि अध्ययन गरिरहेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पीटुपी लेन्डिङ सञ्चालन गर्न अध्ययन थालिने उल्लेख छ ।
तर, यस प्रणालीमा सहजतासँगै केही जोखिम पनि हुन्छन् । यदि ऋण लिने व्यक्तिले पैसा फिर्ता गरेन भने त्यसको घाटा सिधै लगानीकर्ताले बेहोर्नुपर्छ । पीटुपी प्लेटफर्मले केवल माध्यमको काम गर्छ, उसले ऋणको ग्यारेन्टी लिँदैन । यसमा क्रेडिट स्कोरिङले व्यक्तिको वित्तीय प्रतिबद्धता पूरा गर्न सक्ने क्षमताको अनुमान लगाउँछ । यसले धेरै ऋणीहरूमध्येबाट योग्य ऋणी छनौट गर्न आधार प्रदान गर्छ । तर, क्रेडिट स्कोरिङ प्रणाली नभएको अवस्थामा लगानीकर्ताको पैसा डुब्ने जोखिम उच्च हुन्छ ।
पीटुपी प्लेटफर्मले ऋणीको स्कोर हेरेर ब्याजदर तय गर्न सक्छन् । यसमा स्कोर राम्रो भए सस्तो ब्याजमा ऋण पाउँछ भने स्कोर कमजोर भएकालाई महँगो ब्याज लगाइन्छ वा ऋण नै दिइँदैन । तर, नेपालमा व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली अझै उपलब्ध नभएकाले पीटुपी लेन्डिङ सुरु गर्न यही नै ठूलो बाधा देखिएको छ । त्यसैले, केन्द्रीय बैंकले दुई वर्षअघिदेखि नै अध्ययन थाले पनि यो व्यवहारमा लागू हुन भने केही समय लाग्ने देखिन्छ ।


