अर्थमन्त्री बर्षमान पुनले पहिलको सरकारले गरेका राम्रा कामको कार्यान्यन गरेर अगाडि बढने बताएका छन् । अर्थमन्त्री पुनले नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री प्रकाशशरण महतले गरेका राम्रा कामलाई अगाडि बढाउने बताएका हुन् । उनले गाली गरेर समय बर्बाद गर्नेुभन्दा पनि सुरु गरेका राम्रा कामहरूलाई कार्यान्वयन गरेर अगाडि बढ्नु राम्रो भएको दाबी गरेका हुन् । उनले भने -‘मैले पुराना अर्थमन्त्रीलाई गाली गरेर अगाडि बढ्दिनँ, पूर्व अर्थमन्त्रीले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु, त्यो मेरो प्रतिवद्दता हो, पुराना नेतृत्वले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्छ ।
कार्यक्रममा उनले विगतको तुलनामा अर्थतन्त्र केही सहज अवस्थामा रहेको बताउँदै यसलाई थप सहज बनाउनका लागि आफूले काम गर्ने धारणा राखे । आर्थिक क्षेत्रमा अहिले पनि केही सुस्तता कायमै रहेको बताउँदै उनले नेतृत्वले सही ढंगले काम गर्दा सहज भएको धारणा राखे ।
‘बैंकिङ क्षेत्रमा तरलता बढी भएर समस्या आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, अब त्यसलाई परिचालनतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।
यस्तै, उनले १२ सय मेगावाटको बुढिगण्डकीमा ३ खर्ब लगानी आवश्यक रहेको बताउँदै त्यसमा नागरिक लगानी कोषले लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे ।
उनले १० हजार मेगावाट बिजुली निर्यात गर्दा ४/५ खर्ब भित्र्याउन सकिने बताउँदै अब बिजुली उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।
यस्तै, उनले पछिल्लो समय सेयर बजारमा शिथिलता छाएको धारणा राख्दै । सेयर बजारलाई उकास्न लगानीका लागि पनि नागरीक लगानी कोषले लगानी बढाउनुपर्ने धारणा राखे ।
‘सेयर बजार विकासको लागि सुझाव मागेको छु, अब ती सुझावका आधारमा नीतिगत व्यवस्थामा परिमार्जन गर्छु, निजी क्षेत्रका संस्थाहरूसँग प्रतिस्पर्धा गर्ने गरी कोषले पनि अग्रसर हुनुपर्छ,’ उनले भने ।
नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षका बारेमा मात्र बढी चर्चा हुने गरेको टिप्पणी उनले गरे । नेपाल मानव विकास सूचकाकंमा विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि भएको विश्वव्यापी रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भन्ने हल्ला गरिनु दुःख रहेको बताए ।
‘राम्रोलाई राम्रो भनेर बाँकी सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, पुनले भने । यद्यपि राजनीति, राजनीतिज्ञ, कर्मचारी तन्त्र, न्यायालय तथा सामाजिक जीवनका अरु क्षेत्रहरुले आफूबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने मन्त्री पुनले बताए ।
‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिती हुँदा ऋंलका हुन्छ भनिएको थियो । सरकार सञ्चालन गरिहरेको राजनीतिक नेतृत्वले त्यतिबेला हामी ऋलंकाको बाटोमा छैनौं भनेर आस्वस्त पारेको थियो’, पुनले भने, ‘बैंकिङ तरलता बढेर बैंकहरु लगानीको क्षेत्र खोजिरहेका छन् ।’ यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे ।
विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे । पूर्ववर्ती अर्थमन्त्रीहरुबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरुले अघि सारेका राम्रा र साकारात्मक नीतिहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।


