स्वास्थ्य बीमा बोर्डको भुक्तानी प्रणालीमा ठूलो अन्तर देखिएको छ । महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदनअनुसार बीमामार्फत सेवा प्रदायकलाई दिनुपर्ने दाबी रकममध्ये रु.१८ अर्ब ६४ करोड ९१ लाख ३३ हजार भुक्तानी बाँकी रहेको छ ।
बोर्डले १ हजार २८४ प्रकारका औषधि र १ हजार ३९ प्रकारका सेवाको मूल्यसूचीका आधारमा सेवा प्रदायकलाई सोधभर्ना (रिइम्बर्समेन्ट) भुक्तानी गर्दै आएको छ । तर दाबी स्वीकृत भइसके पनि ठूलो रकम समयमै भुक्तानी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, केही स्वास्थ्य संस्थाले बोर्डको अभिलेखमा देखिएकोभन्दा बढी रकम आफूहरूले पाउन बाँकी रहेको दाबी गरेका छन् । विवरणअनुसार सुशील कोइराला क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, कोशी अस्पताल लगायत संस्थाहरूमा भुक्तानी रकमको फरक देखिएको छ । अस्पतालहरू र बोर्डबीच देखिएको यस्तो फरक विवरणले आर्थिक व्यवस्थापनमा कमजोरी रहेको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य बीमा बोर्डले चालु वर्षमा मात्रै रु.३ अर्ब ७३ करोड २२ लाख २६ हजार बीमा शुल्क आम्दानी देखाएको भए पनि बीमा सदस्यता शुल्क र नवीकरण रकमको पूर्ण अभिलेख व्यवस्थित रूपमा नराखिएको पाइएको छ । महालेखाले अभिलेख प्रणाली अद्यावधिक गरी बीमा शुल्कको यकिन हिसाब राख्नुपर्ने आवश्यकता औंल्याएको छ ।
त्यस्तै, विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ८ प्रकारका गम्भीर रोगका बिरामीलाई आर्थिक सहायता दिइँदै आएको छ । यस वर्ष मात्रै ५३ हजार ५७७ बिरामीको उपचारका लागि १३६ स्वास्थ्य संस्थामार्फत रु.४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार भुक्तानी गरिएको छ । महालेखाले यी विभिन्न कार्यक्रमलाई स्वास्थ्य बीमा प्रणालीसँग एकीकृत गरी एकद्वार सेवा प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।


