July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त, को–को बन्दैछन् मन्त्री ?

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त, को–को बन्दैछन् मन्त्री ?

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री बनेसँगै पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा तीनजनालाई विनाविभागीय मन्त्रीको रुपमा सपथ गराएर अगाडी बढ्ने योजना बनाएको बुझिएको छ । काँग्रेसबाट मुख्यमन्त्री, माओवादी र जनता समाजवादीबाट पार्टीले पठाएका एक–एक जनालाई मन्त्रीमा एकै पटक सपथ गराउन योजनामा उनी रहेका छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य, काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाय अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने निश्चित भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने बताएका छन् । असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि काँग्रेस र माओवादीलाई ४–४,जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ११ जनालाई मन्त्री बनाइने छ ।