July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

असार १६, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकले युनाइटेडलाई १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्न नबिल बैंकलाई मंगलबार अन्तिम स्वीकृति दिएको हो । दुवै संस्थाको असार ५ गते बसेको विशेष सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव र सेयर स्वाप अनुपात पारित गरेको थियो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता  शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । नबिलले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ । रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार रहेको छ ।

 

यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिलले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ ।

त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ ।