सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।
एजेन्सीले सूर्य नेपाललाई सर्ट ट्रम कर्जा सुविधाको लागि ‘केयर एनपी ए प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ । सूर्य नेपाल सबैभन्दा ठूलो निजी क्षेत्रको उत्पादन कम्पनी हो । जसले विशेषगरी चुरोट, अगरबत्ती र प्याकेज खाद्य वस्तुहरु निर्माण गर्दै आएको छ । कम्पनीले विगत ३५ वर्षदेखि नेपाली बजारमा “सूर्य” ब्रान्ड अन्तर्गत विभिन्न चुरोट उत्पादन गर्दै आएको छ, जसले उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।
सूर्य नेपालका ब्रान्डहरु जस्तै सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, शिखर फिल्टर किंग्स, पाइलट फिल्टर बजारमा अत्याधिक लोकप्रिय छन् । यी उत्पादनहरुको माग र बजार पहुँचलाई बलियो वितरण प्रणालीले थप सघाएको एजेन्सीले जनाएको छ । सूर्य नेपालमा भारतको अग्रणी कम्पनी आइटीसी लिमिटेडको ५९% स्वामित्व छ । आइटीसीले भारतमा चुरोट, एफएमसीजी, होटल, कृषि व्यवसाय, सूचना प्रविधि जस्ता विविध क्षेत्रमा व्यापार गर्दै आएको छ ।
यसको अनुभवी नेतृत्व र अत्याधुनिक अनुसन्धान तथा विकास क्षमताले सूर्य नेपाललाई रणनीतिक बल प्रदान गरेको छ । साथै, कम्पनीको कृषि व्यवसाय शाखाले सूर्य नेपालका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विशेष गरी तम्बाकू पात, उपलब्ध गराउने कार्य गर्छ । जसले कम्पनीलाई आपूर्ति श्रृङ्खलामा सन्तुलन कायम राख्न मद्दत पुर्याएको छ ।
यद्दपि, सूर्यको मुख्य आम्दानी स्रोत चुरोट व्यवसायमा अत्यधिक निर्भर रहनु भनेको एउटा कमजोरीको रुपमा चिनिएको छ । यदि नियामकीय परिवर्तन वा बजारमा गिरावट आयो भने, कम्पनीको वैकल्पिक आम्दानी स्रोत सीमित रहने देखिन्छ । अझै पनि, सूर्य नेपालले अन्य क्षेत्रमा विस्तारको प्रयास गरिरहेको छ — जस्तै होटल व्यवसायमा लगानी गर्ने योजना बनाइएको छ, जुन कम्पनीको आन्तरिक आम्दानीबाट पूर्ति गरिने अपेक्षा गरिएको छ ।
नेपालमा चुरोटमा लाग्ने उच्च कर प्रणाली र कडाइका साथ लागू गरिएका नियमहरुले पनि सूर्य नेपालको व्यवसायमा चुनौती थपेका छन् । स्वास्थ्य मन्त्रालयले चुरोटका प्याकेटहरुमा १००% ग्राफिकल हेल्थ वार्निङ अनिवार्य गर्ने नयाँ निर्देशिका ल्याएको छ, जुन २०८२ साल साउनदेखि कार्यान्वयनमा आएको छ ।