सरकारले सबै मेनपावर कम्पनीको नविकरण गर्ने तयारी गरको छ । यस अगाडि सयभन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको पनि नवीकरण नहुने भएकोमा यो पल्ट भने सबैको नवीकरण गरिने भएको हो । कोभिड–१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउमार्फत १ वर्षका लागि सबै म्यानपावर कम्पनीको नवीकरण गर्ने व्यवस्था गर्न लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका अनुसार बर्तमान कठिन अवस्थालाई ध्यानमा राख्दे सबै मेनपावर कम्पनीको नविकरण गर्ने तयारी मन्त्रालयले गरेको छ ।
संघीय संसद प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले कानूनमा न्यूनतम् एक सय जना कामदार पठाए मात्र नवीकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अडकाउ फुकाउबाट नवीकरण गर्नेगरी प्रस्ताव मन्त्री परिषदमा पठाउने तयारी गरेको बताए ।
मन्त्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । यस्तो अवस्थामा नवीकरण गर्नुको अर्को विकल्प नभएको मन्त्रीले समितिमा बताएका छन् । व्यवसायीहरूले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजीकरण गरी एक वर्षका लागि नवीकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखीकरण सेवा दिने संस्थाहरूको पनि नवीकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले सबै म्यानपावर कम्पनीको नवीकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे । उनले असार मसान्तभित्र नवीकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नवीकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे ।


