ताप्लेजुङमा लामो समयसम्म वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ ।
यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका स्थानीयको भनाइ छ ।
आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्नथालेपछि किसान चिन्तित बनेका छन् । विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमि हुँदै गएको किसान बताउँछन् ।
सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिंचाइ गर्ने गरिन्छ । यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ ।
यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किसान बताउँछन् । अलैँचीलाई ओसिलो जमिन र सिंचाइ सुविधा अनिवार्य चाहिन्छ ।
एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो । अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलो) अलैँची ७९ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको किसान बताउँछन् ।


