व्यतित बीमालेखको रकम ३६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तको तुलनामा २०८२/८३ कात्तिक मसान्तसम्म व्यतित बीमालेखबापतको रकम ४.६९ प्रतिशतले बढेको हो ।
व्यतित बीमालेखको रकम ३५ अर्ब १३ करोड २ लाख ९४ हजार रुपैयाँबाट रुपैयाँबाट ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ७७ करोड ८५ लाख ८४ हजार रुपैयाँ पुगेको छ। सोही अवधिमा व्यतित बिमालेखको संख्यामा पनि वृद्धि भएको छ । व्यतित बीमालेखको संख्या १२ लाख ५ हजार ९६२ बाट ०.९७ प्रतिशत बढेर १२ लाख १७ हजार ७०२ पुगेको छ।
यता, अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या र रकममा भने गिरावट देखिएको छ। गत आवको भन्दा चालु आवमा बीमालेख समर्पण संख्या १८.१४ प्रतिशत घटेको छ। समीक्षा अवधिसम्म बीमालेख समर्पण संख्या ३५ लाख ९८५ बाट घटेर २९ हजार ४५९ मा सीमित हुन पुगेको छ।
यता, बीमा समर्पण रकममा ६.२७ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेकोमा यो वर्ष घटेर ४ अर्ब ५२ अर्ब ६९ लाख ६६ हजार रुपैयाँ झरेको छ। समर्पण मूल्य भनेको बीमालेखको अवधि पूरा हुनु अघि नै बीमा बन्द गर्दा बीमाधारकले पाउने रकम हो ।
तोकिएको समयभित्र बीमा नविकरण नगर्दा बिमालेख निष्क्रिय हुन्छ । जसलाई व्यतित बीमालेख भनिन्छ । जीवन बीमा कम्पनीहरुले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिएका हुन्छन् । मासिक बीमा शुल्क बुझाई बीमालेख खरिद गरेमा १५ दिन र अन्य प्रकारको किस्तामा बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय दिइएको हुन्छ ।
उक्त अवधिभित्र पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । अर्थात, उक्त बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जुन बीमालेख व्यतित भएको मानिन्छ । म्यादी बीमाको हकमा भने यो प्रावधान लागू हुँदैन । बीमालेख व्यतित हुनु भनेको बीमित र बीमक दुबैको हित विपरित हो । बीमकले बीमा शुल्क पाउँदैन भने बीमितले कम्पनीले दिने सुविधा पाउँदैनन् ।
बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि आफ्नो बीमालेख नवीकरण गर्ने प्रावधान रहेको छ। यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ ।


