Banijya News

बंगलादेशद्वारा नेपाललाई १० लाख डलर मानवीय सहयोग

1
1.0K Shares

बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बंगलादेशले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरेको हो । बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले नेपालका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी दिएका हुन् ।

नेपालमा भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि बंगलादेशले निरन्तर ऐक्यबद्धता जनाउँदै आएको छ । यसअघि सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।

त्यस्तै, बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गरेका थिए ।

आकस्मिक बाढीपछि प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएको सन्देशमा नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै विपद्का पीडितप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेका थिए ।

यसैगरी, बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले अगस्ट २७ मा नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै आवश्यकताअनुसार नेपाललाई सम्भव सबै प्रकारको सहयोग गर्न बंगलादेश तयार रहेको बताएका थिए । वार्ताका क्रममा मानवीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

बाढीको विपद्प्रति बंगलादेशको संसद्ले पनि अगस्ट २७ मा शोक प्रस्ताव पारित गर्दै बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिप्रति दुःख र सहानुभूति व्यक्त गरेको थियो । संसद्मा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । साथै, विपद्पछि नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई आग्रह गरिएको थियो ।

1

Scroll to Top