काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्ता समेत नपाएको भन्दै आन्दोलनमा रहेका समय स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै भत्ता लिएका छन् ।
मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचराीले प्रत्येक दिनको भत्तासमेत बुझेका छन् । काजमा जानेले भ्रमण भत्ता लिएका छन् ।
बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् ।
एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले मंसिर १२ मा सूचना जारी गरेर जोखिममा रहेर काम गर्ने सबैलाई मन्त्रालयकब.बाट रकम निकासा भइसकेको जनाएको छ । तर अहिलेसम्म उनीहरुले कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् ।
संक्रमितको उपचारमा खटिनेलाई दिने भनिएको शतप्रतिशत भत्ता उपलब्ध गराउने जिम्मेवारीमा बस्ने मन्त्रालयका कर्मचारीले भत्ता पाइसक्दा मन्त्रालय निर्देशनअनुसार काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले भने केही पाएका छैनन् । मन्त्रालयमा बस्नेहरुले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन् ।
स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २३ सम्म १२ वटा बैठक बसेको थियो ।
ती बैठकमा उपस्थित भएको भन्दै डा. विकास देवकोटा, प्रकाश पोखरेल, विजयत्राmन्ति शाक्य, सानुबाबु अधिकारी, मुक्तिनाथ न्यौपाने, पुष्करराज नेपाल, सन्तोष सुवेदी पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, दीपक महर्जन, र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन् ।
बैठक भत्ता लिएकाहरुले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम भत्ता दुवै थापेका छन् ।
यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गनेए सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति । यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन् । यसरी एउटै विषयमा पटक पटक बैठक राखेर भत्ता लिनेमा डा. जागेश्वर गौतम, डा. रोशन पोखरेल, गुणराज लोहनी, डा. तारानाथ पोखरेल रघुराम विष्ट, डा. विकास देवकोटा, लगायत छन् ।
एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्म कात्तिकसम्मको भत्ता लिएका छन् ।
कसले कति बुझे ?
लक्ष्मण अर्याल (सचिव) – १,३१,०८९
यादवप्रसाद कोइराला (सचिव) – ५५,०२५
डा. दीपेन्द्ररमण रेग्मी (महानिर्देशक) – ५७,४५३
डा. रोशन पोखरेल (प्रमुख विशेषज्ञ) – १,६३,४५७
महेन्द्रप्रसाद श्रेष्ठ (प्रमुख विशेषज्ञ) – ४४,५०६
दामोदर रेग्मी (सहसचिव) – ३९,७९०
शैलजा रेग्मी भट्टराई (सहसचिव) – १,४६,८५४
रघुराम विष्ट (सहसचिव) – १,११,०३५
डा. विकास देवकोटा (प्रमुख अस्पताल प्रशासक) – १,५०,४८०
डा. गुणराज लोहनी (प्रमुख स्वास्थ्य प्रशासक) – १,५५,२०४
मदनकुमार उपाध्याय (प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट) – ३५,०८९
रीता भण्डारी जोशी (प्रमुख जनस्वास्थ्य प्रशासक) – ३०,३६६
डा. जागेश्वर गौतम (प्रवक्ता) – १,०३,२४४


