Banijya News

खोपले काम गरेन, भटाभट मरे कुखुरा

1
1.1K Shares

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।

आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ । “आइतबार र सोमबारमा सबै कुखुरा मर्यो, आज हेर्दा अब १५ वटा जति च्याउच्याउ गर्दै पल्टिरहेको छ”, उनले भने, “मरेका कुखुरा पुरेका पनि छैनौं, एक्लैले पुर्न सम्भव भएन अब मान्छे खोजेर पुर्नुपर्ला ।”

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले  २५० लोकल  र १००  कडकनाथ जातको कुखुरा मरेको जानकारी दिए  । उनले रु तीन लाख ८० हजारभन्दा बढी क्षति भएको बताए। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन्  । “मैले कुखुरामा रानी खेतको खोप लगाएको थिएँ, तर पनि सबै कुखुरा मर्यो”, उनले भने, “खोप लगाउँदा पनि काम लागेन ।”

सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिए । “झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्”, उनले भने, “कुखुरा बिरामी पर्न थालेको दुई÷तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।”

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा.सञ्जय ढुङ्गानले जानकारी दिए । “कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ”, उनले भने, “खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुनसक्छ ।”

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उनी बताउँछन् ।रासस

1

Scroll to Top