काठमाण्डौँ, चैत्र १३
तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रको तयारी गरिएको छ ।
गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए ।
‘सडक फराकिलो बनाउने काम र नाला निर्माणको काम सँगसँगै अगाडि बढिरहेको छ’, ढुंगानाले भने, ‘वैशाखदेखि कालोपत्रे शुरु गर्ने तयारी गरिएको छ ।’
उनका अनुसार उक्त सडकखण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै वित्तीय प्रगति ५२ प्रतिशत छ । कुल १६ किमी सडक कालोपत्रेका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रू। आठ करोड ४७ लाख र संघबाट समपुरक कोषअन्तर्गत रू। आठ करोड ४७ लाख बजेट विनियोजन भएको छ । ‘यो बजेटले १२ किलोमिटर दूरी कालोपत्रे हुनेछ’, उनले भने ।
विसं २०७६ मंसिर ६ गते सम्झौता भएको उक्त सडकको म्याद विसं २०७८ फागुन १३ गतेसम्म छ । त्यसका लागि काठमाडौंस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकखण्डको साढे दुई किलोमिटर दूरीमा जंगल पर्ने भएकाले कालोपत्रेका लागि समस्या भएको छ ।
‘जंगलले गर्दा साढे दुई किमि समस्या भएको छ, निर्देशनालयले आइइका लागि प्रकृया शुरु गरिसकेको छ’, उनले भने, ‘आइइको प्रतिवेदन आएपछि उक्त खण्डको काम शुरु हुन्छ ।’
निर्माण कम्पनीले स्थानीय तहबाट स्वीकृत लिएर सोही ठाउँमा अस्थायी क्रसर राखेर काम गरिरहेको छ । म्यादभन्दा ६ महीना पहिला काम सम्पन्न गरे बोनस प्राप्त हुने भएकाले निर्माण कम्पनीले सोही बमोजिम कामलाई तीव्रता दिएको ढुंगानाले बताए ।
छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको संख्यामा अझ वृद्धि हुने विश्वास छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रेपछि भक्तजनको संख्या थप वृद्धि हुनेछ ।
आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।
सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । रासस


