दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।
यी वाहेक पनि कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको बताएको छ । अब दोस्रो चरणमा कम्पनीले थप सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो । थप सर्वसाधारण लगानीकर्ताहरुमा यो आईपीओ छिटो अवधि साउन १९ गतेसम्म निष्कासनमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २९ गतेसम्म निष्कासन लम्बिनेछ । तर पछिल्लो समय आईपीओमा लगानीकर्ताको उच्च माग रहेकाले कम्पनीको आईपीओ पनि छिटो अवधि साउन १९ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
पहिलो चरणको आईपीओमा समेत लगानीकर्ताको उच्च माग रहेसँगै छिटो अवधिसम्म मात्र निष्कासन गरिएको थियो ।यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन पाउने व्यवस्था रहेको छ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।