विद्यालय शिक्षा विधेयकलाई प्रतिनिधिसभाबाट असार १५ भित्र पारित गर्ने सहमति भए तापनि त्यसबारेको कार्यान्वयनमा ढिलाइ भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले पनि विधेयकमाथि दफावार छलफल चलिरहेको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार दैनिक छलफलमार्फत सहमति जुटाउने प्रयास भए पनि विधेयक टेबुल गर्न अझै केही समय लाग्ने देखिएको छ।
आजै सम्पन्न बैठकले केही महत्वपूर्ण विषयमा सहमति जुटाएको छ। शिक्षकहरूले पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था र शिक्षा संकायबाहेकका ग्राजुएटले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने सहमति समितिमा भएको छ। साथै, केन्द्र सरकारले शिक्षकलाई दरबन्दीमा पठाउँदा भौगोलिक पायक पर्ने ठाउँमा खटाउने, विद्यालय मर्जको अधिकार स्थानीय तहलाई दिने, र पूर्वप्राथमिक शिक्षा (ईसीडी) सरकारी तथा निजी विद्यालयमा दुई वर्ष राख्ने प्रस्तावमा सहमति बनाइएको छ।
हाल सरकारी विद्यालयहरूमा एक वर्षको ईसीडीपछि कक्षा १ मा भर्ना गर्ने गरिन्छ भने निजी विद्यालयहरूमा प्लेग्रुपदेखि एलकेजीसम्म तीन–चार वर्षको संरचना लागू गरिएको छ। नयाँ प्रस्तावले दुवै तहमा दुई वर्षको ईसीडी अनिवार्य गराउने संकेत दिएको छ।
ईसीडी शिक्षकहरूको योग्यता, उनीहरूलाई शिक्षकको मान्यता दिने वा नदिने, न्यूनतम पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा अझै छलफल जारी छ। यसका साथै सरकारी पदाधिकारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था गरिनुपर्ने माग उठेको छ।
संसदमा विभिन्न दलका सांसदहरूले पनि महत्त्वपूर्ण सुझाव दिएका छन्। रास्वपाकी सुमना श्रेष्ठ, माओवादी केन्द्रकी रेखा शर्मा, एमालेकी विद्या भट्टराईलगायतले बालविकास कर्मचारीलाई शिक्षकको मान्यता दिनुपर्ने धारणा राखेका छन्। यस्तै, छात्रामाथिको दुर्व्यवहार र जातीय विभेदका घटनाबारे स्पष्ट व्यवस्थाको मागसमेत समितिमा उठाइएको छ।
यसैबीच, असार १५ भित्र विधेयक पारित गर्नुपर्ने मागसहित शिक्षकहरूको एक समूह आज सिंहदरबार पुगेको थियो। यसअघि, वैशाख १७ मा सरकार र नेपाल शिक्षक महासंघबीच नौबुँदे सहमति भएको थियो, जसअनुसार शिक्षा ऐन असार १५ भित्रै पारित गरिनुपर्ने उल्लेख छ। महासंघले चैत २० गतेदेखि माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा सडक आन्दोलन गर्दै विधेयक ल्याउन दबाब दिँदै आएको हो।


