Banijya News

म्याच फिक्सिङ आरोप लागेका ६ खेलाडीलाई पाए सर्वोच्चबाट सफाइ

1
1.1K Shares

सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एकजना अफिसियल चिकित्सकलाई सफाइ दिएको छ । अदालतले कप्तान सागर थापा सहित चार फुटबल खेलाडी, पूर्वप्रशिक्षक तथा एक फिजियोथेरापिष्ट गरी छजनालाई मंगलबार सर्वोच्च अदालतले सफाइ दिएको हो ।
न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई विशेष अदालतको फैसला सदर गर्दै सफाइ दिएको हो । उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

विशेष अदालतले २४ जेठ २०७५ मा उनीहरुलाई निर्दोष ठहरगर्दै फैसला गरेको थियो । जसका विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौं सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चले मंगलबार गरेको फैसलामा अन्जन केसीले समेत सफाइ पाएका छन् । केही समयपछि पनि १५ जेठ २०७५ मा सट्टा खेलाएको आरोपमा पक्राउ परेका थिए । उनीसहित गौरव तिवारी लगायतलाई अन्तर्राष्ट्रिय खेलमा सट्टा खेलाएको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा प्रति खेल जनही ५ हजार अमेरिकी डलर लिई हार्ने गरेको अनुसन्धानबाट खुलेको सार्वजनिक गरेको थियो । नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए ।

म्याच फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटेका थिए । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।

उनीहरुलाई विभिन्न मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लागेको थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल वापत ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।

1

Scroll to Top