काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए।
किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो। १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ।’
संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ। रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन। त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ।
शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन्। भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला। संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन्। कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा. मरासिनीको ठम्याइ छ।उपत्यकामा संक्रमणको अवस्था
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ९ सय ६० जना संक्रमित भएका छन्। यीमध्ये २ हजार ६ सय ७० पुरुष र १ हजार २ सय ९० महिला छन्। ललितपुरमा कुल संक्रमितको संख्या ६ सय ६ पुगेको छ। जसमध्ये ३ सय ३३ पुरुष र २ सय ७३ जना महिला छन्। त्यस्तै भक्तपुरमा कुल संक्रमितको संख्या ४ सय ३१ पुगेको छ। जसमध्ये २ सय ६३ पुरुष र १ सय ६३ महिला छन्।
‘काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, मकवानपुरलगायत जिल्लाबाट काठमाडौं उपत्यकामा अहिले पनि आवागमन भइरहेको छ। त्यहाँका व्यक्तिको दैनिकी काठमाडौंसँग जोडिएको छ। तरकारी, दूध र खाद्यान्नका लागि अन्तरनिर्भर छ। अत्यावश्यक सामानसहित वा हिँडेर आएका मान्छेलाई रोक्न सकिँदैन’, डा. मरासिनी भन्छन्, ‘उपत्यकासँगै वरपरका ठाउँमा पनि निषेधाज्ञा गरेको भए प्रभावकारी हुन्थ्यो।’
एकातिर संक्रमितको संख्या बढ्दो छ। अर्कोतर्फ समाजको दुव्र्यवहारका कारण संक्रमितले रोग लुकाउने प्रवृत्तिले पनि संक्रमण वृद्धिमा सहयोग गरिरहेको विज्ञहरूको भनाइ छ। अन्नपूर्ण पोष्टमा दिनेश गौतमले खवर लेखेका छन् ।


