महालक्ष्मी विकास बैंक लिमिटेडले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बिहीवार सम्झौता गरेको छ ।
बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिनेछ ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । ‘कर्पोरेट पे’ मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृति लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ ।
यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सकिनेछ । उक्त सीमाभन्दा बढीको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।
ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।


