नेप्से सूचकमा उछाल आएसँगै सोमबार सेयर बजारले ४ नयाँ रेकर्ड कायम गरेको छ । नेप्से सूचक ३७.४८ अंकको बढोत्तरीसँगै २५६१.४७ अंकमा पुगेको हो । सूचकमा दोहोरो अंकको उछाल आएसँगै सोवार दैनिक कारोबार रकमसमेत बढेर १० अर्ब ६१ करोड रुपैयाँ बढी पुगेको छ । यसअघि हिजो कायम भएको १० अर्ब ४४ करोड रुपैयाँ बढी कारोबार भएका रेकर्ड सोमवार ब्रेक भएको हो ।
यसैबीच, आज सर्वाधिक कारोबारसमेत भएको छ । हिजोको ८७ हजार ६७० पटक सेयर कारोबार संख्याको रेकर्डलाई तोड्दै सोमबार ९२ हजार ७९ पटक सेयर कारोबार भएको हो । यसैगरी सोमवार कुल बजार पूँजीकरणले समेत नयाँ रेकर्ड कायम गरेको छ । यसअघि हिजो ३३ खर्ब ९९ अर्ब रुपैयाँभन्दा बढी रहेको बजार पूँजीकरण बढेर ३४ खर्ब ५२ अर्ब रुपैयाँको उचाइमा पुगेको छ ।
विश्वमा कोरोनाभाइरस संक्रमणको महामारीका कारण अर्थतन्त्रमा गहिरो झट्का लागेको छ । कैयौं क्षेत्रका व्यवसायमा संकटमा परेका छन् । विश्वका मैं हु भन्ने राष्ट्रका अर्थतन्त्रका सूचक नकारात्मक भएका छन् । नेपालकै अर्थतन्त्र पनि नराम्ररी प्रभावित भएको छ । अर्थतन्त्र ओरालो गएपनि अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने लगातार उकालो लागेको छ । गत मध्य असारबाट शेयर बजार परिसूचक लगातार जस्तो उकालो चढिरहेको छ । बजारका पूराना खेलाडी मात्रै होइन, थपिइरहेका साना र नयाँ कारोबारीहरूले आत्मविश्वासपूर्वक लगानी खन्याइरहेको छन् । यसरी अर्थतन्त्रमा निराशाका बीच के कारण छ जसले बजारलाई चम्किलो बनाइरहेको छ ? बजारका लगानीकर्ता तथा विश्लेषकहरू एक मात्र होइन, धेरै कारणले बजारमा छलाङ आएको अनुमान गर्छन् । यसरी हुने छलाङ ल्याउने एक गतिलो अस्त्र हो पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली । यसैको आडमा आज बजारमा नयाँ रेकर्ड कायम भएका हुन् । सेयर बजार त बढ्यो । चोक गल्ली चिया पसलमा सेयर बढेको चर्चा पनि चल्यो । तर त्यही चर्चा बटुल्न भुमिका खोल्ने पात्र नेपाल रुटक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भने ओझेलमा परे ।
बिमा क्षेत्रमा करिब दुई दशकभन्दा धेरै समय बिताएका साउद अहिले सेयर बजारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनमा व्यस्त छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी अध्यापन पेसाका ब्याक्ति पनि हुन् । यतिखेर साउद सेयर बजार माथि उठाउन समेत अब्बल भएका छन् । नेप्सेले लगानीकर्ताको सहजताका लागि सेयर बजारमा प्रविधि मैत्री सुविधा भित्र्याउन उनले खेलेको भूमिकाले सेयर बजार नयाँ उचाईमा पुग्यो । उनकै पहलमा नेप्सेले धेरै जोखिम लिएर अनलाइन कारोबार प्रणाली सञ्चालनमा गर्दा बजार चम्काउने साउदको नयाँ अनलाईन अस्त्र बन्न पुग्यो ।
परिवर्तनशील राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यावसायिक वातावरण अनुरुप समयानुकूल सुधार हँुदै आउनु हुन्छ । यस्को लागि कसैले नयाँ शैली दिन सोही अनुकूलको नेतृत्व दिनु पर्छ, अनीमात्र सुधारात्मक कदम थपिन्छ । यही सुधार मध्येको एक हो नेप्से पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली । जब साउदको अग्रसरतामा अनलाइन प्रणाली आयो तव सेयर बजार माथि उठाउँने यो संजिबनी बुट्टी नै भयो । यो बुट्टी नेप्सेबाट स्वीकृत ब्रोकर व्याक अफिस सफ्टवेयर मार्फत लगानीकर्ताहरुले सरल र सहज रुपमा इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था प्रणालीको हो ।
२०७५ साल कार्तिक २० गते साउदको नेतृत्वमा उदघाटन भएको यो प्रणाली जब बजारमा आयो तव नेप्सेले छलाङ नै मार्न थाल्यो । हुन त अनलाईन प्रणालीको उदघाटनको क्रममा नै साउदले भनेका थिए,–‘बजारले केही बर्षमा नै छलाङ मार्छ ।’ न भन्दै उनको त्यो भनाई आज आएर पुष्टि भएको छ । बजार प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ ।
विश्वका विकशित मुलुकमा हुने कारोवार झैं नेपालमा पनि सरल र सहज रुपमा कारोवार हुन आवश्यक थियो । यही बजारलाई आधुनिकीकरण गर्ने दाउँमा रहेका साउदको नयाँ अस्त्र त्यती खेर सिद्ध भयो जती खेर संम्पूर्ण नेपाली कोरोनाको महामारीबाट बच्न भन्दै ढोका थुनेर बसेका थिए ।
शासकहरु आम जनतालाई थुनेर राख्न तल्लिन हुँदा साउदको नेतृत्वमा आएको अनलाईन प्रणालीले मज्जाले फैलिन पायो । हात हातमा भएको मोवाइन र साथमा भएको कम्प्युटरको माध्यमबाट यही प्रणाली हुँदै संसारको जुनसुकै स्थानबाट सेयरको कारोवार गर्न सकिने भयो ।
२० विभिन्न सहायक तथा मुख्य मोड्युलबाट गरिने यो प्रणालीको बिकास सँगै पूँजी बजारमा सर्बसाधारणको आकर्षण बढेको छ । आकर्षण यतिसम्मकी सन्तान जम्मने वित्तिकै बाच्चाको बाउ डिम्याट खाता खोल्न बैंकमा पुग्ने गरेका छन् । लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त हुँदै जाँदा यसको आकर्षण बढेको यो नै गतिलो उदाहरण हो । यो प्रणाली मार्फत लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड लिएर घरबाट नै विश्वब्यापी रुपमा कारोवार गर्न सक्ने भए । यो शेयर बजारको सुखद उपलब्धी भएको साउदको दाबी गर्छन् । उनी भन्छन्–‘नट्स स्थापनापछि लगानीकर्ताले कारोवारमा अन्र्तराष्ट्रिय स्तरको आधुनिक प्रविधि प्रयोग गर्न पाएका छन् । इन्टरनेटको सुविधा पुगेका देश विदेशमा भएका सबै नेपालीले लगानीकर्तालाई अव नट्समार्फत कारोवार गर्न सजिलो भएको छ ।’
साउदले भनेझैं नेप्सेकोको अनलाइन प्रणाली टिएमएस सित मिलेर म्याचिड भै आदेशहरु सुरक्षित गर्ने काम हुन्छ । यसको सम्बन्ध कारोवार ब्यावस्थापन प्रणाली (टिएमएस) सित हुन्छ । ब्रोकर तथा लगानीकर्ताको कारोवार इन्टरनेटको माध्यमबाट धितोपत्र बजारमा आदेश प्रविष्ट गर्ने सक्छन् । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरुलाई धितोपत्र किनबेच सेवा प्रदान गर्न सक्छन् ।
नीतिगत सुधारमा नयाँ पाइला
नेप्सेको जिम्मेवारी सम्हाल्दै गर्दा कारोबार र सूचीकरण विनियमावलीसमेत ओपन आउट क्राई सिस्टमको थियो । साउद नेप्से प्रबेश गरेको करिब ६ महिनाको अवधिमा कारोबार र सूचीकरण विनियमावली परिवर्तन गर्ने काम गरे । त्यति मात्र नभई पुँजीबजारका सूचकहरू वैज्ञानिक र व्यावहारिक बनाउनका लागि विकास बैंक र माइक्रो फाइनान्सलाई छुट्ट्याएर छुट्टाछुट्टै सूचक बनाउँने काम भयो । त्यसैगरी बिमामा जीवन र निर्जीवन, नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट अलग गरेर अन्य समूहमा राख्ने काम भयो । यस्ले सस्थामा नीतिगत सुधार भयो । जसले बजारलाई माथि उठाउन थप मद्धत गर्ये ।
धितोपत्र बजारमा कम्पनी विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताका लागि यो अचुक औषधि हो ।
त्यस्तै, सूचीकरण र कारोवारसम्बन्धी दुई विनियमावली तर्जुमा गरी कार्यान्वायनमा ल्याउने काम चन्द्रसिंहको पहलमा भएको हो । यसका अलावा मार्जिन कारोवारसम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।
साउदकै नेतृत्वमा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री प्रकृया अगाडि सारेको छ । अझै केही सेयर बिक्री गर्न बाँकी रहेको र त्यो पनि चाँडै विक्री गर्ने आन्तिरिक तयारीमा जुटेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको सेयर समेत विक्री गर्नु पर्ने पहल नेप्सेका प्रमुख साउदले गर्दे आएका छन् ।
ऐतिहासिक बजार पूँजीकरण ः
आर्थिक बर्ष २०७६÷७७ को प्रथम पाँच महिनामा बजार पूँजीकरण १४ खर्ब ६६ अर्व ४ करोड कायम रहेकोमा आर्थिक बर्षमा २०७७÷७८ को पहिलो पाँच महिनामा बजार पूँजीकरण मूल्य ८८.५ प्रतिशतले बृद्धि भई रु २७ खर्व ६३ अर्व ६५ करोड पुगेको छ । पुस सम्म पाँच महिनामा कारोवार रकममा ८३१.८५ प्रतिशतले बृद्धि भई ३ खर्व २ अर्व ९३ करोड ९१ लाख मूल्य ८२ करोड ९२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको देखिन्छ । यसरी शेयर बजारमा नयाँ छलाङ कारोवार देखिनुको एकै कारण चन्द्रसिंहको अगुवाईमा स्थापना भएको अनलाइन प्रणालीनै हो । यसैको आडमा नेप्से बर्तमान समयमा सबैभन्दा बढी सरकारलाई राजस्व बुझाउने सस्थाहरु मध्येको एक भएको छ । चालु आर्थिक बर्षको पुस मसान्त सम्ममा यस सस्थाले सरकारलाई ३ अर्व ७३ करोड १ लाख ६८ हजार पाँच सय ६६ रुपैया सरकारलाई राजस्व तिरेको छ । सस्थाले १३ करोड त सरकारलाई अग्रिम कर बुझाएको हो । त्यसमध्ये ५० करोड ४४ लाख १७ हजार ९६ रुपैया ब्रोकर कमिसन बुझाएको नेस्सेले दावी गर्दे आएको छ ।
नेप्सेले आर्थिक बर्षको पछिल्लो ५ महिनामा कारोवार संख्यामा ५२७.१५ प्रतिशतले बृद्धि भएर ३७ लाख ४१ हजार २ सय ८० वटा कारोवार भएको छ । पछिल्लो पाँच महिनामा सुचिकृत धितोपत्रको चुक्ता मूल्य अधिल्लो बर्षको तुलनामा २०.८ प्रतिशतले बढेर ४ खर्व ९१ अर्व २४ करोड पुगेको छ ।
कारोवारमा छलाङ, राजस्व संकलनमा ऐतिहास
सरकारलाई कर बुझाउने मात्र होइन साउदको नेतृत्वमा धितोपत्रको दोस्रो बजार सुसञ्चालनका लागि नेप्सेले प्रविधिमा ठूलै लगानी गरेको छ । प्रविधिको वार्षिक मर्मत शुल्क र लाइसेन्सिङमा पनि खर्च ठूलो छ । खर्चका बाबजुद आर्थिक बर्ष २०७५÷७६ मा २८ करोड रुपैया नाफ भएकोमा आर्थिक बर्ष २०७६÷७७ मा ३२.५० करोड नाफा गरेको साउद बताउँछन् । सेयर पूँजी ५० करोड रुपैया रहेको सस्थाको जगेडा कोषमा २.६६ अर्व रुपैयाँ रहेको छ । त्यस्तै सस्थाले लगानी पनि गरेको छ । ‘हामीले एक अर्ब ३१ करोड रुपैया लगानी गरेका छौं ।– सिंह बताउँछन् ।
शेयर बजारमा लगानीकर्ताहरूले दिनदिनै अवसरको सिर्जना गरिरहेका छन् । पछिल्लो एक महीनामा मात्रै लगानीकर्ताहरूको सम्पत्ति चार खर्ब रूपैयाँभन्दा बढीले वृद्धि भएको छ । नेप्सेमा सूचिकृत रहेका कम्पनीहरूको शेयरको कुल मूल्य (बजार पुँजीकरण) रु. २६ खर्ब ३८ अर्ब पुगेको छ । छ महीना अघि शेयर बजारमा सूचिकृत कम्पनीहरुको कुल मूल्य रु. १५ खर्ब ५९ अर्ब मात्रै थियो । अर्थात, यसबीचमा लगानीकर्ताहरुको शेयरको कुल मूल्य झण्डै रु. ११ खर्बले बढिसकेको छ ।
अहिले दुई लाख ८० हजारले अनलाइनमार्फत कारोबार गर्ने स्वीकृति लिएका छन् । एक वर्षअघि मुस्किलले १८ देखि २० हजारको हाराहारीमा मात्र यस्तो संख्या थियो । यसले प्राथमिक शेयर मात्रै होइन शेयरको दोस्रो बजारमा कारोबार गर्नेको संख्या समेत बढाएको प्रष्ट पार्दछ । विभिन्न कम्पनीका प्राथमिक शेयर निष्कासनमा आवेदन दिन पछिल्लो एक सातामा मात्रै करीब एक लाखभन्दा धेरैले धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख गरिने डिम्याट खाता खोलेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, डिम्याट खाता खोल्नेको संख्या करीब ३० लाख नोघको छ ।
शेयर बजारलाई जति अवसरको क्षेत्र मानिन्छ, उतिकै जोखिमपूर्ण क्षेत्र पनि मानिने साउद दाबी गर्छन् । शेयर बजारको लगानी सधैं फाइदाजनक हुन्छ भन्ने सोच्नु बुद्धिमत्तानभएको उनी बताउँछन् । बजार लगातार बढिरहेका बेला अवसर देखेर रकम खन्याउने लगानीकर्ता फस्न सक्ने उनको तर्क छ । उनी भन्छन् –‘कम्पनीको व्यवसाय नबढ्ने तर, मूल्य मात्र बढ्दा गहिरो अध्ययनबिना छिरेका लगानीकर्ता मूल्यपासोमा फस्ने सम्भावना बढी हुन्छ ।’
बजारमा नाफा कमाएर बेचिहाल्ने ध्याउन्नले छिर्नुभन्दा दीर्घकालीन लगानी गर्नु कम जोखिमपूर्ण भएको उनको तर्क छ । बजारमा माग पक्ष बलियो बनिरहेको छ, त्यसैले आगामी महीनाहरूमा शेयर बजारमा थप नयाँ रेकर्ड बन्दै जाने दावी उनको छ । साउद थप्छन्,–‘वृद्धिको चक्र बल्ल शुरू भएको छ ।’
सेयर बजारमा सुधार त आएको छ नै तर यतिले मात्र बजारमा सुधार सम्भव छैन् । खासगरी शेयर बजारमा विदेशी लगानी भित्र्याउने, कर छुट दिने तथा अन्य प्रोत्साहित गर्ने खालका नीति अघि सार्नुपर्ने आजको आवश्यकता हो । यसो गर्दा, पूँजीबजारले भविष्यको लगानी विस्तारका लागि नयाँ अवसर पाउँने छन् । यस तर्फ नेप्से लगायत सबै सरोकारवाला पक्षले ध्यानदिनु आवश्यक छ ।


