पछिल्लो समय लघुवित्त वित्तीय संस्थाका निष्क्रिय कर्जा बढ्दै गएको पाइएको छ । लघुवित्त संस्थाहरूको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १०० प्रतिशतसम्म कर्जा निष्क्रिय रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाहरूको अस्थायी वित्तीय सूचकांकले लघुवित्त क्षेत्रमा नाफा, निष्क्रिय कर्जा (एनपीएल) र वित्तीय स्वास्थ्यमा ठूलो अन्तर देखाएको हो ।
केन्द्रीय बैंकका अनुसार, देशभर सञ्चालनमा रहेका ५१ वटा लघुवित्त संस्थाको कुल कर्जा लगानी रु. ५२७ अर्ब ५ करोड पुगेको छ भने कुल निक्षेप रु. २२३ अर्ब १६ करोड र कुल सापटी रु. २३९ अर्ब ८८ करोड रहेको छ । कृषि क्षेत्रमा मात्रै रु. ३०१ अर्ब ७९ करोड कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ६१.१८ प्रतिशत हो ।
राष्ट्र बैंकको सो प्रतिवेदनअनुसार, लघुवित्तहरूको औसत निष्क्रिय कर्जा १०.७१ प्रतिशत पुगेको छ । यो अनुपात अझै उच्च रहेकाले लघुवित्त क्षेत्रले कर्जा असुली र सम्पत्ति गुणस्तरमा चुनौती झेलिरहेको संकेत गरेको छ ।
विवरणअनुसार, सबैभन्दा बढी निष्क्रिय कर्जा सञ्जीवनी लघुवित्तको रहेको छ । सञजीवनी लघुवित्तको निष्क्रिय कर्जा १०० प्रतिशत रहेको छ । लघुवित्तमध्ये सबैभन्दा कम निष्क्रिय कर्जा भएका संस्थाहरूको सूचीमा छिमेक लघुवित्त अग्रस्थानमा रहेको छ । यस संस्थाको निष्क्रिय कर्जा २.४१ प्रतिशत मात्र रहेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार, नेरुडे मिर्मिरे लघुवित्तको निष्क्रिय कर्जा २४.४९ प्रतिशत रहेको छ भने इन्फिनिटी लघुवित्तको २३.९३ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको २३.६२ प्रतिशत, नेस्डो समृद्ध लघुवित्तको २१.३४ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
उता, युनिक नेपाल लघुवित्तको १९.५३ प्रतिशत, फरवार्ड लघुवित्तको १८.९१ प्रतिशत, मेरो लघुवित्तको १८.८४ प्रतिशत, सूर्योदय वोमी लघुवित्तको १७.९० प्रतिशत र नाडेप लघुवित्तको १७.६८ प्रतिशत रहेको छ । त्यस्तै, एनआइसी एशिया लघुवित्तको १६.५९ प्रतिशत, साधना लघुवित्तको १५.६८ प्रतिशत, एनएमबि लघुवित्तको १५.५० प्रतिशत, समता घरेलु लघुवित्तको १५.०० प्रतिशत, गणपति लघुवित्तको १४.२९ प्रतिशत, कालिका लघुवित्तको १४.१४ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
उक्त विवरणअनुसार, निर्धन उत्थान लघुवित्तको १३.५२ प्रतिशत, लक्ष्मी लघुवित्तको १२.५९ प्रतिशत, स्वास्तिक लघुवित्तको १२.३१ प्रतिशत, मिथिला लघुवित्तको १२.०३ प्रतिशत, नेशनल लघुवित्तको ११.८१ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ११.१७ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ११.१२ प्रतिशत र आशा लघुवित्तको निष्क्रिय कर्जा ११.०८ प्रतिशत रहेको छ । चैत मसान्तसम्म लघुवित्तहरूको भारित औसत निष्क्रिय कर्जा ११.३२ प्रतिशत रहेको छ ।
सबैभन्दा कम निष्क्रिय कर्जा भएका संस्थाहरूको सूचीमा छिमेक लघुवित्त रहेको छ । यस संस्थाको निष्क्रिय कर्जा २.४१ प्रतिशत मात्र रहेको छ । १० प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएका लघुवित्तहरुमध्ये सपोर्ट लघुवित्तको ३.३१ प्रतिशत, गुराँस लघुवित्तको ३.४१ प्रतिशत, आरएसडीसी लघुवित्तको ३.४६ प्रतिशत (थोक कारोबार), साना किसान विकास लघुवित्तको ४.१२ प्रतिशत (थोक कारोबार), फर्स्ट माइक्रोफाइनान्सको ४.३६ प्रतिशत (थोक कारोबार), जीवन विकास लघुवित्तको ४.८० प्रतिशत, ग्रामीण विकास लघुवित्तको ४.९४ प्रतिशत, सामुदायिक लघुवित्तको ५.०० प्रतिशत र अभियान लघुवित्तको ५.१४ प्रतिशत रहेको छ ।


