Banijya News

भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल

1
1.0K Shares

शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

धार्मिक तीर्थयात्रा र घुमफिरका लागि भुटानी नागरिकको नेपाल आगमन पछिल्लो समय उत्साहजनक देखिएको छ । भुटानी पर्यटक विशेषगरी पूर्वी नाका काँकडभिट्टा र काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने गरेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका हुँदै एक हजार १६ जना भुटानी पर्यटक नेपाल भित्रिएका छन् ।

सो अवधिमा उक्त नाकाबाट नेपाल भित्रिएका कुल चार हजार ४१५ विदेशी पर्यटकमध्ये भुटानी पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै पूर्वी नाकाबाट नेपाल आउने भुटानी पाहुनाको आगमनमा निरन्तर सुधार भइरहेको छ ।

काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकमध्ये भुटानी नागरिक शीर्ष स्थानमा छन् । उक्त नाकाबाट भित्रिने कुल विदेशी पर्यटकको आधाभन्दा बढी हिस्सा भुटानी पर्यटकले ओगटेका छन् ।

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार २२६ जना भुटानी पर्यटक यस नाकाबाट नेपाल प्रवेश गरेका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा भित्रिएका कुल नौ हजार ४४७ विदेशी पर्यटकमध्ये चार हजार ४४७ जना भुटानी नागरिक थिए ।

भुटानको दक्षिणी व्यापारिक नाका फुन्छोलिङ र नेपालको पूर्वी प्रवेशद्वार काँकडभिट्टाबीचको भौगोलिक निकटता तथा सहज यातायात पहुँचका कारण भुटानी पर्यटक स्थलमार्गबाटै नेपाल यात्रा गर्न रुचाउने गरेका छन् ।

विशेषगरी असोजदेखि फागुनसम्मको समय भुटानी पर्यटकका लागि नेपाल भ्रमण गर्न उपयुक्त मानिन्छ । शान्त वातावरण, हिमाली दृश्यावलोकन, पदयात्रा तथा बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्रहरूको दर्शन गर्न उनीहरू नेपाल आउने गरेका छन् ।

नेपाल प्रवेश गरेपछि भुटानी पर्यटकको प्रमुख गन्तव्य काठमाडौँ, भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखरा बन्ने गरेका छन् । स्थलमार्गसँगै हवाईमार्गबाट नेपाल आउने भुटानी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपाल भित्रिएका कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये ३६ हजार २८९ जना भुटानी पर्यटक थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट नेपाल भित्रिने पर्यटकको सूचीमा भारत पहिलो र बङ्गलादेश दोस्रो स्थानमा छन् । भुटानले पनि नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण हिस्सा ओगट्दै आएको छ ।

1

Scroll to Top