सरकारले स्वदेशी उत्पादनको निर्यात बढाउने उद्देश्यसहित चिया, अलैंची, चाउचाउ, बिस्कुटदेखि गलैँचा, पस्मिना र तयारी पोशाकसम्मका वस्तुलाई निर्यात प्रोत्साहन कार्यक्रममा समेटेको छ । कृषि उत्पादन, खाद्य प्रशोधन, हस्तकला, कपडा तथा अन्य उत्पादनमूलक उद्योगलाई लक्षित गर्दै सरकारले नयाँ कार्यविधिमार्फत यस्तो व्यवस्था गरेको हो ।
कार्यविधिअनुसार प्रोत्साहन रकम उद्योग विभागमार्फत वितरण गरिनेछ । तर कुनै उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुका लागि प्रोत्साहन रकम प्राप्त गर्न पाउने छैनन् ।
कार्यक्रममा प्रशोधित चिया, कफी, अलैंची, अदुवा, बेसार, विभिन्न मसला, तरकारी, फलफूल, च्याउ तथा तिनका प्रशोधित उत्पादन समावेश छन् । त्यस्तै, मह, दूध तथा दुग्धजन्य पदार्थ, पुष्प तथा प्रशोधित पुष्पजन्य सामग्री, वाइन, साइडर र स्प्रिङ वाटर उत्पादन गर्ने उद्योगले पनि प्रोत्साहन पाउनेछन् ।
खाद्य प्रशोधनतर्फ चाउचाउ, बिस्कुट, पास्ता र चिजबल्सलगायतका उत्पादनलाई समेटिएको छ । प्राङ्गारिक मल, कपास तथा कपासको बिउ, बाँस, बेत, अल्लो र प्राकृतिक रेशाजन्य उत्पादन पनि प्रोत्साहनको सूचीमा छन् ।
त्यसैगरी, नेपालको परम्परागत निर्यातजन्य वस्तु ऊनी गलैँचा, पस्मिना, यार्न, टेक्स्टायल, फेल्ट, तयारी पोशाक, जुत्ताचप्पल तथा छालाजन्य उत्पादनले समेत कार्यक्रममा अवसर पाउनेछन् । फर्निचर, पार्केटिङ, प्लाइउड, कम्पोजिट बोर्ड, हस्तकला, काष्ठकला, लोक्ताबाट बनेको नेपाली हाते कागज तथा अन्य कागजजन्य उत्पादन पनि समेटिएका छन् ।
प्रशोधित जडीबुटी, सारयुक्त तेल, आयुर्वेदिक औषधि, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहनालाई समेत प्रोत्साहनयोग्य वस्तुको सूचीमा राखिएको छ ।
सरकारले विशेषगरी भारतबाहेकका मुलुकमा नेपाली वस्तुको निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ । स्वदेशी उद्योगको उत्पादन क्षमता वृद्धि, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी र नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
तर, यसअघि स्रोत अभावका कारण खारेज भएको निर्यात प्रोत्साहन कार्यक्रम पुनः सञ्चालनमा ल्याउँदा आवश्यक बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
विगतमा निर्यात अनुदानको भुक्तानीमा ढिलाइ र समस्याको सामना गरेका उद्योगीका लागि यसपटक पनि प्रोत्साहन रकम समयमै उपलब्ध हुने सुनिश्चितता महत्त्वपूर्ण हुनेछ । त्यसैले कार्यक्रमको सफलता वस्तुहरूको सूची विस्तारमा मात्र नभई बजेटको पर्याप्तता र प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ ।


