Banijya News

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

1
1.0K Shares

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा भरणपोषणका लागि विशेष सहायता योजना सुरु गरेको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबारदेखि सुरु गरिएको योजनाअन्तर्गत प्रभावित बालबालिकालाई १८ वर्ष उमेर पूरा नहुँदासम्म मासिक आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।

योजनाको सुरुवात बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै गरिएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेकी हुन् । ती बालिकाले १८ वर्ष नपुग्दासम्म आमासँगै परिवारमा रहेर उक्त रकम प्राप्त गर्नेछिन् ।

मन्त्री वादीका अनुसार बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिनेछ । बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर योजना कार्यान्वयन गरिने उनले बताइन् ।

उनले सहयोगका नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी बालबालिकालाई अन्यत्र लैजान नपाउने स्पष्ट पारेकी छन् । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनको भनाइ छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकाका लागि एमआइटिजीएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत संस्थाले संरक्षण तथा स्याहार सेवा उपलब्ध गराउनेछन् ।

मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोगको व्यवस्था मिलाइएको छ । जसमा एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिका समेटिएका छन् ।

बालबालिकाको अवस्था पहिचान र मूल्यांकनका लागि परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली बाढी प्रभावित क्षेत्रमा परिचालित छन् । यसैगरी मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको र बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको मन्त्री वादीले जानकारी दिइन् ।

1

Scroll to Top