Banijya News

गोरखकाली रबर उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिने सरकारको तयारी

1
1.0K Shares

लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन सरकारले निजी क्षेत्रलाई जिम्मेवारी दिने तयारी गरेको छ । उद्योगको स्वामित्व सरकारमै कायम राखेर सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी ‘अपरेसन लिज मोडल’ अपनाउन सिफारिस गरिएको हो । यस मोडलमार्फत सरकारले थप पूँजी लगानी नगरी निजी क्षेत्रको लगानी, प्रविधि र व्यवस्थापकीय दक्षता उपयोग गर्ने लक्ष्य राखेको छ ।

सरकारी लगानी व्यवस्थापन समितिमा शुक्रबार पेस गरिएको प्रतिवेदनले गोरखकाली रबर उद्योगलाई निश्चित अवधि र सर्त तोकेर निजी क्षेत्रलाई लिजमा दिन उपयुक्त हुने निष्कर्ष निकालेको छ । उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेपछि अर्थ मन्त्रालयले गठन गरेको विज्ञ समितिले उद्योगको भविष्यबारे विभिन्न विकल्प प्रस्तुत गरेको थियो ।

उक्त समितिले उद्योग निजी क्षेत्रलाई लिजमा दिएर सञ्चालन गर्ने, कम्पनी खारेज गर्ने तथा निजी वा सार्वजनिक संस्थाको सहभागितामा सञ्चालन गर्ने गरी तीनवटा विकल्प अघि सारेको थियो । ती विकल्पको थप अध्ययन गर्न गठित उपसमितिले भने लिज मोडललाई सबैभन्दा उपयुक्त विकल्पका रूपमा सिफारिस गरेको हो ।

प्रस्तावित व्यवस्थाअनुसार उद्योगको सम्पत्ति र स्वामित्व सरकारकै रहनेछ । तर, उद्योग सञ्चालन, व्यवस्थापन, आवश्यक प्रविधिको व्यवस्था र पूँजी परिचालनको जिम्मेवारी निजी क्षेत्रले लिनेछ । यसका लागि लिजको अवधि, सञ्चालनका सर्त र निजी क्षेत्रले पूरा गर्नुपर्ने दायित्व स्पष्ट रूपमा निर्धारण गरिनेछ ।

अर्थ मन्त्रालयका अनुसार यो व्यवस्थाले सरकारी उद्योग सञ्चालनका लागि राज्यले थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था कम गर्नेछ । साथै निजी क्षेत्रको व्यावसायिक अनुभव र दक्षता उपयोग गरी लामो समयदेखि निष्क्रिय रहेको उद्योगलाई पुनः उत्पादनमा फर्काउन सकिने अपेक्षा गरिएको छ ।

यसैबीच, गोरखकाली रबर उद्योगको सञ्चालन मोडल अध्ययन गरिरहेको उपसमितिले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सञ्चालन तथा व्यवस्थापनबारे पनि अध्ययन अघि बढाएको छ । सरकारी लगानीमा सञ्चालित उद्योगलाई कसरी आर्थिक रूपमा सबल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन केन्द्रित रहेको छ ।

यद्यपि, उपसमितिले गरेको सिफारिस नै अन्तिम निर्णय भने होइन। अर्थमन्त्रीको अध्यक्षतामा रहने सरकारी लगानी व्यवस्थापन समितिले प्रतिवेदनमाथि अध्ययन गरी उद्योगको भविष्यबारे अन्तिम निर्णय गर्नेछ ।

समितिमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति, अर्थ, कानुन तथा श्रम मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका एक सदस्य, निजी क्षेत्रका प्रतिनिधि र सरकारले मनोनीत गरेका दुई सांसद सदस्य रहने व्यवस्था छ ।

समितिको निर्णयपछि मात्रै गोरखकाली रबर उद्योग सञ्चालनको प्रस्तावले औपचारिक रूपमा कार्यान्वयनको बाटो पाउनेछ । साथै उद्योग सञ्चालनको जिम्मेवारी कसलाई दिने, लिज अवधि कति हुने र निजी क्षेत्रले पूरा गर्नुपर्ने सर्त के हुने भन्ने विषय पनि त्यसपछि टुंगो लाग्नेछ ।

1

Scroll to Top